काठमाण्डौ । दुवै बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम रुप दिने मुख्य अजेन्डासहित ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक लिमिटेडले आगामी मंसिर २ गते एकैदिन वार्षिक साधारणसभाको मिति तय गरेका छन् ।

ग्लोबल आइएमई बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी १३ औँ र जनता बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा दसौँ वार्षिक साधारणसभा गर्न लागेका हुन् । सभामा विशेष प्रस्तावका रुपमा प्रस्तुत हुने दुवै बैंक आपसमा मर्जर प्रक्रियालाई अन्तिम रुप दिने मुख्य अजेन्डा पारित हुनेछ । बैंकहरुले संयुक्त मर्जर समिति तथा दुवै बैंकको सञ्चालक समितिले पारित गरेअनुसार सेयर स्वाप अनुपात (१ः०.८५) पारित गर्ने भएका हुन्। जसअनुसार ग्लोब आइएमई बैंकको १०० कित्ताबराबर जनता बैंकको ८५ कित्ता हुनेछ । 

दुवै बैंकले सभामा मर्जरपछि बन्ने बैंकको नाम ‘ग्लोबल आइएमई बैंक लिमिटेड’ र केन्द्रीय कार्यालय काठमाण्डौको कमलादीमा रहने गरी स्वीकृति प्रदान गर्ने अजेन्डा पनि प्रस्तुत गर्नेछछन् । यी बैंकको मर्जरप्रक्रियालाई नेपाल राष्ट्र बैंकले असोज ८ गते नै सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ । 
ग्लोबल आइएमई बैंकको जारी पूँजी १ अर्ब रुपैयाँबाट बढाएर २५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्तावसमेत सभाबाट पारित हुनेछ । 

मर्जरपश्चात बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोहीअनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने भएको छ । सभाबाटै मर्जर प्रक्रियाका लागि कुनै कार्य गर्नुपरेमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय हुनेछ । 

गत आर्थिक वर्षको मुनाफाबाट ग्लोबल आइएमई बैंकले प्रस्ताव गरेको चुक्ता पूँजीको १२.७५ प्रतिशत बोनस शेयर र १२.७५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने अर्को अजेन्डा साधारणसभाले पारित गर्नेछ । त्यस्तै जनता बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

दुवै बैंकको साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायता अन्य महत्वपूर्ण प्रतिवेदन पनि पारित गर्नेछ ।