-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का सीइओ चन्द्रसिंह साउदले अनलाइन कारोबार प्रणालीमा कुनै समस्या नरहेको भन्दै पुुरानै शैलीमा आफ्नो बचाउ गरेका छन् । 

राजधानीमा सोमबार आयोजना भएको एक कार्यक्रममा नेप्सेका सीइओ साउदले अनलाइन कारोबार प्रणालीका विषयमा कुुनै पनि त्रूटि नरहेको दाबी गर्दै मिडियाहरुले गलत न्यूज पस्किरहेको आरोप लगाएका हुन् ।

नेप्सेले म्याचिङ इञ्जिन मात्र बनाउने काम भएको भन्दै पन्छिएका साउद अनलाइन कारोबार प्रणाली, बैंक खाता तथा डिम्याट खाता इन्टिग्रेसनको दायित्व नेप्सेको नभएको भन्दै उल्टै चर्किए ।

साउदले सीडीएससीसँग र एनसीएचएलमार्फत बैंक इन्टिग्रेसन कार्य सम्पन्न भइसकेको समेत बताए । जब कि बोर्डले लगानीकर्ताको बैंक खाता र डिम्याट खाता इन्टिग्रेसन गर्न दिएको निर्देशनको समेत बेवास्ता गर्दै नेप्से एकतर्फी अघि बढिरहेको छ । 

इन्टरनेटका कारण कहिलेकाहीँ म्याचिङ इञ्जिनले काम नगरिरहेको जिकिर गरेका साउद थ्री फेजको व्यवस्था गरेको जिकिर गर्छन् । सेमी अनलाइनभन्दा अहिलेको अनलाइन प्रणाली ५० गुुणा बढी शक्तिशाली भएको साउदको जिकिर थियो । तर, के कारणले ५० गुणा बढी शक्तिशाली हो भन्ने तर्क भने उनले पेश गर्न सकेनन् ।

लगानीकर्ताले भने दैनिकजसो नयाँ अनलाइनमा कारोबार गर्दा दैनिक अनगिन्ती समस्या यथावत रहेको र प्रयोगमैत्री समेत नरहेको गुनासो गरिरहेका छन् । अहिले पनि नेप्सेले तथ्याङ्क सही नदिंदा लगानी निर्णयमा कठिनाइ भइरहेको उनीहरुको गुनासो छ । 

अनलाइनमा रहेको भद्रगोल अवस्था र सयौं कमजोरीलाई सुधारेर भरपर्दो बनाउनको साटो साउदले प्रारम्भदेखि नै यसको बचाउ गर्दै आएका छन् । लगानीकर्ताहरुले पूर्ण अनलाइनको नाममा सेमी अनलाइनको समेत सुविधा मज्जाले नपाइरहेको अवस्थामा साउदको जिकिरले मात्र अनलाइनको गुणस्तरमा सुधार हुने र लगानीकर्ताको सकसका दिन हराउने अवस्था बन्न सक्दैन ।