काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ ।

राष्ट्रबैंकले मंसिर ६ गते (शुक्रबार) दुवै वित्तीय संस्थाबीच आपसमा मर्जरका लागि स्वीकृति दिएको हो । यी दुवै संस्थाबीच गत वर्ष फागुन २४ गते मर्जर सम्झौता भएको थियो । उक्त सम्झौता राष्ट्रबैंकमा स्वीकृतिका लागि फागुन २६ गते पठाइएको थियो ।

दुवै संस्थाको बोर्डको निर्णय र संयुक्त मर्जर समितिबाट नागरिक लघुवित्तको १०० कित्ताबराबर बोमी लघुवित्तको ७२ कित्ता सेयर कायम हुने गरी सिफारिस गरिएको सेयर स्वाप अनुपात मर्जरमा जाने सहमति भएको छ ।

मर्जरपछि संस्थाको नयाँ नाम बोमी लघुवित्त वित्तीय संस्था लिमिटेड रहने र केन्द्रीय कार्यालय हालको नागरिक लघुवित्तको कार्यालय नै हुनेछ । संस्थाको सीईओमा बोमी लघुवित्तका हालका सीईओलाई नै नियुक्त गरिनेछ ।

वोमी माइक्रोफाइनान्सले २०६८ सालको नारी दिवसको अवसर पारी आफ्नो कारोबारको शुभारम्भ गरेको थियो । महिला प्रमोटरको बाहुल्यता रहेको यो संस्थाको मुख्य कार्यालय चितवनको भरतपुरमा रहेको छ ।

हाल यो माइक्रोफाइनान्सले ३२ जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकेको छ । 

नागरिक लघुवित्त भने २०७४ असार २५ गते पब्लिक लिमीटेड फाइनान्सियल इन्स्टिच्यूसनको रुपमा दर्ता भएको थियो । यो कम्पनीलाई नेपाल राष्टबैंकले २०७४ मंसिर २४ गते माइक्रोफाइनान्सको रुपमा संचालनका लागि स्वीकृति दिएको थियो ।

काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीको सेवा १० जिल्लामा बिस्तार भएको छ । नागरिक लघुवित्तको अधिकृत पूँजी ५ करोड रुपैयाँ रहेको छ भने २ करोड ५० लाख जारी पूँजी रहेको छ ।  कम्पनीले सर्वसाधारणका लागि आइपीओ निश्कासन गरिसकेको छैन भने प्रमोटरबाट ७० प्रतिशत लगानी जुटिसकेको छ ।