काठमाण्डौ । पहिलो पटक सहकारी विभागले काठमाण्डौका ५ वटा सहकारी संस्था खारेज गरेको छ ।

सहकारी विभागका रजिष्टार टोकराज पाण्डेका अनुसार सहकारी ऐन बर्खिलापमा सञ्चालनमा रहेकाले विभागले काठमाण्डौका विभिन्न ५ सहकारी संस्था खारेज गर्ने निर्णय भएको हो । 

सहकारी संस्थाहरु सहकारी ऐनको मूल्य मान्यतामा नरही आर्थिक क्रियाकलापमा संलग्न पाइएकाले खारेजी निर्णय गरिएको पाण्डेले बिजशालालाई बताए ।

नेपाल किसान राष्ट्रिय कृषि सहकारी संस्था , समृद्ध कृषि सहकारी संस्था, तपोभूमि कृषि सहकारी संस्था, हरित कृषि सहकारी संस्था र भारतीय पूर्व सैनिक कल्याणकारी कृषि सहकारी संस्था खारेजीमा परेको विभागले जनाएको छ ।

हाल स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाको नियमनको अधिकार स्थानीय तहको क्षेत्राधिकारमा छन् । यद्यपि सहकारी ऐनको दफा ८८ मा सहकारी संस्थाका बहुमत सदस्यले विगठनका लागि निवेदन दिएमा सहकारी विभागले खारेज गर्न सक्ने व्यवस्था गरेको छ।

यसैबीच सहकारी ऐन,२०७४ को उपदफा (३)मा विभागका रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकारप्राप्त व्यक्तिले समेत सहकारी सिद्धान्तअनुसार काम गरेको नपाइए खारेज गर्न सक्ने व्यवस्था छ । उक्त ऐनको व्यवस्थालाई टेकेर नै रजिष्टार स्तरीय निर्णयबाट संस्था दर्ता खारेज गरिएको पाण्डेले जानकारी दिए ।