काउली–परिवारका सबै तरकारीमा क्यान्सरनिरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ । ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुन्छ । यसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीरभित्रका रसायनलाई निस्तेज गर्छ । ब्रोकाउली खाइरहनाले स्तन, कलेजो, फोक्सो, प्रोस्टेट, छाला, पेटलगायतका क्यान्सर हुने जोखिम कम हुन्छ ।

स्ट्रबेरी, किम्बु, काफलजस्ता मसिना आकारका फलफूलमा क्यान्सरविरुद्ध लड्ने फाइट्रोन्युट्रियन्ट्स तत्व प्रशस्त हुन्छ । यसले शरीरका अंग विशेषमा क्यान्सरका कोषिकाहरूको विकास र विस्तारलाई रोक्ने काम गर्छ । साथै, रक्तकोषिका तथा धमनीमा क्यान्सरमुखी रसायनको विकासलाई पनि यसले कम गरिदिन्छ । यस्ता फलफूल खाइरहने गर्नाले आमाशय, मुख र छालाको क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

गोलभेँडामा पाइने क्यारोटेनोइड नामक तत्वले यसलाई रातो बनाउँछ । यही तत्वले गर्भाशयमा हुने क्यान्सरका कोषिकाहरूको विकासलाई रोकिदिने गर्छ । यसले फोक्सो, प्रोस्टेट र पेटको क्यान्सरको जोखिम पनि कम गरिदिन्छ ।

ओखरमा पाइने फाइटोस्टेरोल्स नामक तत्वले स्तनमा क्यान्सर गराउने कोषिकाको विकास अवरुद्ध गरिदिन्छ । ओखरले प्रोस्टेट क्यान्सर लाग्ने जोखिम पनि घटाउँछ ।

लसुनमा पाइने फाइटो केमिकलले क्यान्सरविरुद्ध लड्ने क्षमता दिलाउँछ । आइवा वुमन्स हेल्थ स्टडीले गरेको एउटा अनुसन्धानले बढी लसुन खाने महिलालाई पाठेघरसम्बन्धी क्यान्सर हुने जोखिम कम लसुन खाने महिलाको भन्दा ५० प्रतिशत कम हुने पत्ता लगाएको थियो । लसुनले स्तन र पेटको क्यान्सर लाग्ने सम्भावना पनि कम गराउँछ ।

सिमीजस्ता गेडागुडी खाँदा शरीरमा फ्याट्टी एसिड उत्पादन बढी हुन्छ, जसले मानिसलाई क्यान्सर रोगबाट बचाउँछ । यस्ता गेडागुडी खाइरहने गर्नाले स्तन र पाठेघरसम्बन्धी क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

गाढा हरियो रंगका तरकारीको सलाद खानु क्यान्सरको जोखिम हटाउने दृष्टिकोणले बढी लाभदायक हुन्छ । गाढा हरियो तरकारीमा क्लोरोफिलको मात्रा बढी हुन्छ र यस्ता तरकारी खाँदा शरीरमा म्याग्नेसियमको आपूर्ति बढ्न जान्छ । म्याग्नेसियमले क्यान्सरका जीवाणुलाई कमजोर पार्ने र नयाँ स्वस्थ कोषिकाको विकासका लागि अनुकूल वातावरण बनाउने गर्छ ।

-Agency