काठमाण्डौ । विश्वका अधिकांश एयरलायन्स कम्पनीहरुले चीनका लागि हुने हवाई सेवा स्थगित गरेका छन् ।

कोरोनाभाइरसको महामारी फैलिएको चीनमा ब्रिटिस एयरवेज्स, युनाइटेड एयरलायन्स, अमेरिकन एयरलायन्स, एयर एसिया, एयर इन्डिया, इन्डिगोजस्ता चर्चित एयरलायन्स कम्पनीहरुले चीनका लागि हुने हवाई सेवा तत्काललाई स्थगि गरेका हुन् । कोरोनाभाइरसले हालसम्म चीनमा १३२ जनाको ज्यान गइसकेको छ भने ६ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिका, जापान, जर्मनी, फ्रान्स, नेपाललगायतका देशमा पनि यो भाइरस संक्रमितहरु फेला पर्ने क्रम सुरु भएको छ ।

ब्रिटिस एयरवेज्यले हाललाई चीनसम्मको सबै सीधा उडान स्थगित गरेको जनाएको छ । ब्रिटिस एयरवेज्यको लन्डनबाट चीनको बेइजिङ र सांघाई सहरमा दैनिक दुईवटा सीधा उडान हुँदै आएको थियो । हाललाई जनवरी ३१ तारिखसम्म उडान स्थगित हुने भनिए पनि यो परिस्थितिअनुसार लम्बिन सक्ने ब्रिटिस एयरवेज्सका अधिकारीहरु बताएका छन् । 

त्यस्तै अमेरिकाको युनाइटेड एयरलायन्सले चीनका तीनवटा सहर बेइजिङ, हङ्कङ र सांघाईका लागि हुने दैनिक उडान स्थगि गरेको छ । त्यस्तै अमेरिकन एयरलायन्सले पनि चीनका ती तीनै सहरमा गर्दै आएको केही उडान स्थगित गरेको छ । 

हङ्कङ सरकारले पनि आफ्ना चारवटा स्थानीय एयरलायन्स कम्पनीले चीनका अन्य २४ गन्तव्यमा सातामा ४८० उडानलाई कटौती गर्दै २४० उडानमा सीमित पारेको छ । 

एयर क्यानडाले पनि चीनका विभिन्न सहरमा सातामा ३३ उडान गर्दै आएकोमा हाललाई केही समरमा उडान कटौती गरेको छ । 

जर्मनीको ध्वजावहाक एयरलायन्सले आउँदा फेब्रुअरी ९ तारिखसम्म चीनका लागि हुने सम्पूर्ण उडान स्थगित गरेको छ । एयर एसियाले थाइल्यान्ड र मलेरियाबाट चीनको वुहान सहरमा हुने दैनिक उडान फेब्रुअरी २९ तारिखसम्मका लागि स्थगित गरेको छ । 

यसैगरी एयर इन्डियाले मुम्बई र दिल्लीबाट चीनको सांघाई सहरमा हुने दैनिक उडान जनवरी ३१ तारिखदेखि फेब्रुअरी १४ तारिखसम्मका लागि स्थगित गरेको छ । त्यस्तै इन्डिगोले पनि दिल्लीदेखि चीनको चेङडु सहरमा हुने उडान फ्रेब्रुअरी २० तारिखसम्मका लागि स्थगित गरेकोछ । 

उता कतार एयरलायन्स र मलेसिया एयरलायन्सले भने आफ्नो उडानहरु नियमित राखेका छन् । यद्यपि दुवै एयरलायन्स कम्पनीहरुले चीन जाँदा र आउँदा सम्पूर्ण यात्रु र चालक दलका सदस्यहरुको विमानस्थलमै स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेका छन् । – एजेन्सी