काठमाण्डौ । बिमा कम्पनीका संचालक समितिहरुले प्रस्ताव गर्ने लाभांशको अंकलाई हेरेरै सेयरमा लगानी गर्नेहरुलाई धोका हुनसक्छ । यसको पछिल्लो उदाहरण बनेको छ हिमालयन जनरल इन्स्योरेन्स(एचजीआई) । 

यो कम्पनीले आफ्ना सेयरधनीका लागि तुलनात्मक रुपमा कम लाभांश प्रस्ताव गरेको थियो । तर, त्यही कम लाभांशमा पनि बिमा समितिले कैंची लगाएको छ । फलस्वरुप सेयरधनीले पाउने लाभांश घट्ने भएको छ । 

केही साताअघि बसेको कम्पनीको संचालक समिति बैठकले ५.५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल १०.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । त्यही लाभांशको लोभमा कतिपयले सेयर किनेका कारण कम्पनीको दोश्रो बजार मूल्य पनि बढेको थियो । तर, संचालक समितिबाट प्रस्तावित लाभांश दरलाई बिमा समितिले संसोधन गरिदिएपछि सेयरधनीले पाउने प्रतिफल घट्ने भएको हो । 

आर्थिक वषृ २०७५/७६ का लागि कम्पनीले गरेको प्रस्तावमाथि संसोधन गर्न बिमा समितिले माघ ८ गते निर्देशन दिएको थियो । सोहीअनुसार कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले प्रस्तावित लाभांशमा संसोधन गरेको छ । 

नेप्सेमा प्रकाशित सूचनाअनुसार अब हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले ४ प्रतिशत मात्र बोनस सेयर पाउने अवस्था आउन सक्नेछ । नगद लाभांश समेत घटेर कर प्रयोजनसहित ३.७५ प्रतिशतमा सीमित बन्न पुगेको छ । यसरी हेर्दा १०.५ प्रतिशतको लाभांश संसोधन भई ७.७५ प्रतिशतमा संकुचित भएको छ । 

संसोधित दर अनुसार कम्पनीले आफ्ना लगानीकर्तालाई ४ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर र ३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।