काठमाण्डौ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकामा पछिल्लो साता प्रवासीहरुको समर्थनमा आयोजित हड्तालमा सामेल १ सय भन्दा बढी कर्मचारीलाई डोनाल्ड ट्रम्पको दवाबमा बर्खास्त गरिएको छ । 

अमेरिकामा गत बिहीबार देशमा प्रवासीहरुको योगदानलाई दर्शाउनका लागि ‘डे विदआउट इमीग्रेन्ट्स’ नामको एक प्रदर्शन भएको थियो । यो प्रदर्शनमा समर्थन जनाउनका लागि विभिन्न कम्पनीबाट ठूलो संख्याका कर्मचारी सो दिन काममा गएका थिएनन् । 

कोलोराडोको एक कम्पनीका मालिक जिम सेरोब्स्कीले सिएनएन टिभीमा भनेका छन् कि उनका कर्मचारीहरुले प्रवासीहरुको समर्थनमा काममा नआएको मूल्य चुकाउनुपर्नेछ । जिमले आफ्ना ३० कर्मचारीलाई बर्खास्त गरिएको बताएका छन् । उनले भनेका छन–‘हामीले कर्मचारीलाई यस्तो काम नगर्न कडा चेतावनी दिएका थियौं । उनीहरुलाई यसो नगर्न र यस्तो काम भए कम्पनीलाई क्षति पुुग्ने समेत भनिएको थियो । टिमविरुद्ध नजान समेत हामीले भनेका थियौं, तर अब उनीहरुलाई बर्खास्त गर्दा हामीलाई कुनै अफसोच भएको छैन ।’

विभिन्न कम्पनीबाट कति कर्मचारीलाई बर्खास्त गरियो भन्ने बारेमा यकिन तथ्यांक आइसकेको छैन, तर अमेरिकाका धेरै कम्पनीहरुले सरकारको दवाबमा कर्मचारी हटाएका बीबीसीको रिपोर्टमा उल्लेख छ । 

गत हप्ता अमेरिकाका राष्ट्रपति ट्रम्पको आप्रबासीविरुद्ध आएको कडा नीतिको विरोधमा कर्मचारी तथा छात्रहरुले हड्ताल गरेका थिए, यो कारण व्यवसाय तथा स्कूलको कामकाजमा निकै ठूलो असर परेको थियो । यो साता पनि अमेरिकाका कयौं शहरमा ट्रम्पको विरोध र अमेरिकी मुसलमानहरुको समर्थनमा प्रदर्शन भएका छन् ।