काठमाण्डौ । जीवन बिमा कम्पनीहरुले परिपक्व भएको बिमालेखको दाबी भुक्तानी आवश्यक कागजात प्राप्त भएको मितिबाट ७ दिनभित्रमा गर्नुपर्ने भएको छ । 

बिमा समितिले बिमा दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

बीमकले बिमालेख परिपक्व भएको मितिले १५ दिनभित्र सक्कल बिमालेख तथा परिचय खुल्ने कागजातहरु लिई भुक्तानी लिन आउन सूचना जारी गर्नुपर्ने व्यवस्था समेत भएको छ । 

आवश्यक कागजात पेश गरिसकेपछि भने ७ दिनभित्रमै दाबी भुक्तानी गरिसक्नुपर्नेछ । 

बिमालेखको अवधि समाप्त हुनुअघि नै बिमितको मृत्यु भएमा उसले इच्छाएको व्यक्ति वा नइच्छाएको भए सबैभन्दा नजिकको हकवालाले निवेदन दिनुपर्ने र त्यस्तो निवेदन तथा आवश्यक कागजातहरु प्राप्त भएको मितिले १५ दिनभित्र दायीत्व निर्धारण गरी दाबी भुक्तानी लिन आउनका लागि निवेदकका नाममा डिस्चार्ज भौचर जारी गर्नुपर्ने व्यवस्था समेत भएको छ ।

निर्जीवन बिमा कम्पनीहरुले भने सर्भेयरले आवश्यक जाँचबुझ गरी सर्भे प्रतिवेदन बिमक समक्ष पेश गरेको २१ दिनभित्र बिमकले दायीत्व ठहर गरी बिमितलाई निर्जीवन बिमाको दाबी भुक्तानी गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । 

यस्तै, नयाँ व्यवस्थाले निर्जीवन बिमा कम्पनीबाट जाँचबुझका लागि खटिने सर्भेयरमाथि समेत केही कडाई गरेको छ । 

सर्भेयरहरुले एकैपटक धेरैवटा केश लिएर काम ढिलो गर्न थालेका गुनासो व्यापक बनेपछि समितिले एक सर्भेयरले कुनै एक बिमकमा बढीमा ५ वटासम्म सर्भे प्रतिवेदन बुझाउन बाँकी रहेको अवस्थामा पुनः सर्भेयर नियुक्ति गर्न नपाइने व्यवस्था समेत लागू भएको छ । 

यस्तै, बिमितलाई दाबीभुक्तानी दिंदा बिमित वा हकवालाको बैंक खातामा बैंकमार्फत वा बिमित वा हकवालाको नाममा एकाउण्ट पेयी चेकमार्फत गर्नुपर्नेछ ।