काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई आर्थिक सहायता रोक्न निर्देशन दिएका छन्। 

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको आरोप लगाए। उनले आफ्नो प्रशासनलाई डब्ल्यूएचओलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग रोक्न निर्देशन दिए। 

डब्ल्यूएचओले चीनमा कोरोनाभाइरस देखिएपछि संमणसम्बन्धी विषयलाई सही ढंगले व्यवस्था गर्न नसकेको र घटनालाई ढाकछोप गरेको उनको आरोप छ । डब्ल्यूएचओलाई जवाफदेही बनाउनैपर्ने ट्रम्पको भनाइ छ। 

यसअघि ट्रम्पले डब्ल्यूएचओले चीनप्रति आग्रह राखेको आरोप लगाएका थिए। उनले डब्ल्यूएचओ चीनकेन्द्रित भइरहेको आरोप प्रायः लगाउने गरेका छन्।

अमेरिका डब्ल्यूएचओलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्छ जसले गत वर्ष ४० करोड डलर उपलब्ध गराएको थिए। यो रकम डब्ल्यूएचओको कुल बजेटको १५ प्रतिशतभित्र पर्छ। 

कोभिड-१९ को महामारी विश्वव्यापी फैलिएपछि आफूहरुले अमेरिकी उदारताको उत्कृष्ट सदुपयोग भए वा नभएकोबारे गहिरो चासो रहेको ट्रम्पले बताए। चीनको वुहान शहरमा पहिलो पटक कोरोनाभाइरस देखिएपछि त्यसबारे पर्याप्त लेखाजोखा गर्न डब्ल्यूएचओ विफल भएको उनको आरोप छ । 'के अवस्थाको वस्तुगत लेखाजोखा गर्नका निम्ति डब्ल्यूएचओले चीनमा चिकित्सा विज्ञहरूको टोली पठायो र चीन पारदर्शी नभएकोबारे कुरा उठायो?', ट्रम्पले भने, 'उसको स्रोतसाधनबाट कम मानवीय क्षतिमा कोरोनाभाइरसलाई नियन्त्रण गर्न सकिन्थ्यो। त्यसो गरिएको भए विश्वव्यापी आर्थिक क्षतिलाई रोक्न सकिन्थ्यो तर त्यसो नगरेर डब्ल्यूएचओले चीन सरकारका कदमहरूको प्रतिरक्षा गर्यो।'

अमेरिकामा कोरोना महामारीसँग जुझ्न लिएका नीतिलाई लिएर ट्रम्प आफैँले आलोचना खेपिइरहेका छन्। तर मंगलबर उनले कोरोनाभाइरस महामारीलाई लिएर आफ्नो प्रशासनले चालेका कदमहरूको आक्रोशपूर्ण ढंगले बचाउ गरेका थिए।

राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको सङ्क्रमण फैलने विषयलाई एकदमै नराम्रो ढंगले व्यपस्थापन गरेको र त्यसलाई ढाकछोप गरेको विषयमा समीक्षा भइरहँदा आर्थिक सहयोग रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन्। 'आफ्नो न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको छ र उसलाई जवाफदेही बनाउनैपर्छ', ट्रम्पले थपे।