काठमाण्डौ । विश्वमा अहिले कोरोनाभाइरसको सन्त्रास कायमै छ। कोरोनाविरुद्धको भ्याक्सिन र औषधि बनिनसकेकोले यसको संकट टरिसकेको छैन।

लन्डनस्थित इन्पेरियल कलेजका ग्लोबल हेल्थका प्रोफेसर तथा कोभिड–१९ का लागि विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ) का दूत डेभिड नैबारोले भ्याक्सिन बन्ने ग्यारेन्टी नभएकोले अबका दिनमा मानिसहरुले कोरोनाको खतराबीच जिउनुपर्ने अवस्था आउने चेतावनी दिएका छन्। 

गार्जियनको रिपोर्टअनुसार नैबारोले कोरोनाविरुद्धको भ्याक्सिन सफलतापूर्वक तयार गर्ने कुनै किसिमको ग्यारेन्टी नभएको बताएका छन्। ‘कोरोना संकटबीचको नयाँ माहौलमा मानिसहरुले अब सामञ्जस्य स्थापित गर्न आवश्यक छ’, उनले भनेका छन्, ‘अब अहिले छिटै कोरोनाविरुद्धको भ्याक्सिन बन्छ भनेर ढुक्क भएर हिँड्ने अवस्था छैन।’

हरेक भाइरसविरुद्ध अनिवार्य रुपमा एउटा सुरक्षित र प्रभावी भ्याक्सिन बन्छ नै भन्ने ग्यारेन्टी नहुने पनि नैबारोले बताएका छन्। ‘केही यस्ता भाइरस हुन्छन्, जसको विरुद्ध भ्याक्सिन बनाउन निकै कठिन हुन्छ’, उनले भनेका छन्, ‘त्यसैले कोरोना पनि एउटा यस्तै कठिन भाइरस बनेको छ, त्यसैले मानिसले अब यो संकटबीच जीवन जिउने नयाँ तरिका र सोच अपनाउन आवश्यक छ।’

संक्रामक रोगका विज्ञहरुका अनुसार भ्याक्सिन तयार नहुन्जेलसम्म कुनै व्यक्तिमा कोरोनाको लक्षण देखिएको छ भने ती व्यक्ति र ती संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाहरुलाई आइसोलेटमा राख्नुपर्छ। ‘वृद्धवृद्धालाई संक्रमणबाट बचाउनुपर्छ, संक्रमितको उपचारका लागि अस्पतालको क्षमता बढाउनुपर्छ’, उनीहरु सुझाव दिन्छन्।

त्यसो त डब्ल्यूएचओका एक अधिकारीले कोरोना संक्रमित व्यक्ति ठिक भइसकेपछि पनि ऊ कोरोनामुक्त भएको भन्ने कुनै आधार नहुने बताएका थिए। हालै दक्षिण कोरिायमा ठिक भइसकेका १०० जनामा पुनः कोरोना संक्रमण देखिएको थियो। 

त्यसैले प्रभावकारी भ्याक्सिन वा औषधि नबनेसम्म कोरोना संकटबाट मुक्ति हुने सम्भावना नरहेको स्वास्थ्य विज्ञहरु बताउँछन्। – एजेन्सी