काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा चीनबाट भएका गतिविधिका विषयमा अमेरिकी प्रशासनले निकै गम्भीर जाँच सुरु गरेको बताएका छन्।

ह्वाइटहाउसमा सोमबार साँझ भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूहरु चीनको कार्यशैलीप्रति खुसी नरहेको पनि स्पष्ट पारेका छन्। ‘हामी कोरोनाभाइरसबाट उत्पन्न पूरै परिस्थितिबाट खुसी छैनौँ’, उनले भने, ‘किनकि मलाई लाग्छ कि चीनले चाहेको भए यो भाइरसको रोकथाम त्यहीँ हुन सक्थ्यो तर त्यसो भएन, आज विश्वभर फैलियो।’

ट्रम्पले अहिलेको परिस्थिति एउटा देशको लापरबाहीले निम्तेको भन्ने कुरा कसैले नस्वीकार्ने बताए। ‘अहिले यहाँ कसैले पनि कसैलाई यो परिस्थितिको जिम्मेवार मानेका छैनन्’, चीनप्रति ईशारा गर्दै उनले भने, ‘हामी त्यस्ता मानिस वा समूहमाथि जाँच गरिरहेका छौँ जसले यो भाइरस उत्पत्ति भएकै स्थानमा सीमित गर्न सक्थ्यो। उसले केवल हामीलाई होइन पूरै विश्वसलाई बचाउन सक्थ्यो।’

ट्रम्पले यो भाइरस अनियन्त्रित हुनुमा चीनको गम्भीर लापरबाही रहेको दाबी गर्दै आएका छन्। उनले यो महामारी नियन्त्रणका लागि अमेरिकाले तत्कालै चीनसँग सीमा बन्द गरेको पनि बताउँदै आएका छन्। 

उता स्वास्थ्य विशेषज्ञहरुले भने अमेरिकासँग तयारीको समय हुँदाहुँदै पनि ट्रम्प प्रशासनले अवसर गुमाएको बताएका छन्। – एजेन्सी