काठमाण्डौ । कोरोनाभाइरसको महामारी विश्वभर फैलिँदोछ। यसलाई नियन्त्रण गर्न औषधि तथा भ्याक्सिन विकास लागि विश्वभर वैज्ञानिकहरु लागिपरे पनि सफलता हात पार्न सकेका छैनन्।

अहिले पनि विश्वका अधिकांश देश लकडाउनमा छन्। ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गराइरहेका छन्।

यस्तैमा ट्विटरले यदि आफ्ना कर्मचारीले चाहेमा सधैँका लागि घरबाटै काम गर्ने (वर्क फ्रम होम) गर्ने अनुमति दिइने घोषणा गरेको छ। अमेरकाको सानफ्रान्सिस्कोस्थित ट्विटरले यस्तो घोषणा गरेको हो। ट्विटरले गत मार्चदेखि करिब ५ हजार कर्मचारी घरबाटै काम गरिरहेको जनाएको पनि छ। घरबाटै काम राम्ररी भइरहेकोले आउँदा दिनमा यसलाई निरन्तरता दिन कुनै समस्या नहुने ट्विटरले जनाएको छ। 

ट्विटरका सीईओ ज्याक डोर्सीले आफ्नो कर्मचारीहरुलाई ई–मेल पठाउँदै भनेका छन्, ‘पछिल्ला केही महिनाको कामबाटै यो प्रमाणित हुन्छ कि हामी घरबाटै सफलतापूर्वक काम गरिरहेका छौँ। त्यसैले यदि कर्मचारीले चाहेमा सधैँका लागि घरबाटै काम गर्न सक्नेछन्।’ 

जो कर्मचारी सधैँ घरबाट काम गर्न सक्दैनन् उनीहरुका लागि यो वर्षको अन्त्यतिर कार्यालय खोलिने पनि ट्विटरले जनाएको छ। लन्डन, सिंगापुर, नयाँदिल्ली गरी विश्वभर ट्विटरका ३५ कार्यालय छन्। 

यसअघि फेसबुक र गुगलजस्ता कम्पनीले पनि आफ्नो कर्मचारीले यो कोरोना संकटबाट सुरक्षित राख्न यो वर्षभरि घरबाटै काम गर्न अनुमति दिइसकेका छन्। – एजेन्सी