काठमाण्डौ । ट्विटरले पहिलोपटक आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराउँदै राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा ट्वीटबारे तथ्यजाँच गर्न भनेको छ।

ट्रम्पले नोभेम्बर महिनामा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा हुलाकबाट भोट हाल्ने योजनाको आलोचना गर्दै ट्वीटहरू गरेका थिए। त्यसरी मतदान हुँदा त्यसको दुरूपयोग हुनसक्ने भन्ने उनका ट्वीटको तलपट्टि ट्विटरले प्रयोगकर्ताहरूलाई सचेत गराएको हो।

विस्मयाबोधक चिन्हकासाथ ती ट्वीट मुनि 'हुलाकबाट हुने मतदानबारे तथ्यहरू जान्नुहोस्' भन्दै निलो रङ्गमा लेखिएको छ।

त्यसले के हुन्छ?

त्यहाँ क्लिक गर्दा ट्विटर प्रयोगकर्ताहरू उक्त दाबीको खण्डन गर्दै लेखिएका समाचारहरूसम्म पुग्छन्। ट्विटरले मानिसहरूलाई झुक्याउने सूचनाका विषयमा नयाँ नीति लिने यसै महिनाको सुरुमा बताएको थियो।

उसले त्यसबेला आफ्ना केही नीतिहरू अद्यावधिक समेत गरेको थियो जसमा गलत र झुक्याउने जानकारी दिने ट्वीटमा प्रयोगकर्तालाई सचेत गराउने लेबल थप्ने कुरा गरिएको थियो।

राष्ट्रपतिको पछिल्ला त्यस्ता ट्वीटलाई 'मतदान प्रक्रियाहरूबारे झुक्याउन सक्ने खालका जानकारी' भएकोले त्यसो गरिएको उक्त कम्पनीले जनाएको छ। ट्रम्पले ट्विटरको यस कदमबारे ट्वीट गर्दै उसले अब सन् २०२० को राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप गर्न लागेको प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्: "ट्विटरले पूर्ण रूपमा खुला अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठेको छ र राष्ट्रपतिको रूपमा मैले त्यसो हुन दिनेछैन।"

बीबीसीकी जो थोमसले ट्विटर अहिले सुरक्षित सार्वजनिक मञ्च बन्ने र वाक स्वतन्त्रताको सन्तुलन मिलाउने एउटा कठिन बाटोमा रहेको बताएकी छन्। उनी भन्छिन्: "नोभेम्बरमा राष्ट्रपति चुनाव हुनुअघि ट्विटरले अरु पनि यस्ता अभ्यास गर्नसक्छ।"

पृष्ठभूमि

राष्ट्रपति ट्रम्पविरूद्ध कदम चाल्न यस सामाजिक सञ्जाल सुस्त देखिएको थियो।

ट्रम्पले आफ्ना कतिपय ट्वीटमा सन् २००१ मा भएको लोरी क्लाउस्टसको मृत्युबारे व्यक्त गरेका अनुमानलाई ट्विटरले नहटाउने निर्णय गरेको पृष्ठभूमिमा यस कदम आएको छ। ट्रम्पले आफ्ना षड्यन्त्रका सिद्धान्त प्रस्तुत गर्दै श्रीमती क्लाउस्टसको हत्या त्यसबेलाका उनका हाकिम एमएसएनबीसी टेलिभिजनका प्रस्तोता जो स्कारबोर्गले गरेको उल्लेख गरेका थिए।

जो स्कारबोर्गकी श्रीमतीले समेत राष्ट्रपतिलाई 'बिरामी' भन्दै ती ट्वीट हटाउन ट्विटरलाई आग्रह गरेकी थिइन्। उक्त हत्या दुर्घटना सावित भएको थियो।

लोरी क्लाउस्टसका पति टिमोथी क्लाउस्टसले ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीलाई एउटा पत्र लेख्दै 'भयावह झुट' उल्लेखित उक्त ट्वीट हटाउन आग्रह गरेका थिए।

ट्विटरले त्यसो गर्न अस्वीकार गरेको थियो। तर ट्विटरले टिमोथी क्लाउस्टसलाई राष्ट्रपतिका अभिव्यक्तिबाट परेको चोटबारे आफूहरू 'निकै दु:खी' भएको बताएको थियो।

ट्विटरको विज्ञप्तिमा भनिएको थियो: "हामी हाम्रा मौजुदा सुविधा र नीतिहरू विस्तार गर्नेगरी काम गरिरहेका छौँ जसले यस्ता कुरालाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न सक्नेछौँ। र त्यस्तो परिवर्तन छिट्टै हुनेछ।" – बीबीसी नेपाली सेवाबाट