काठमाण्डौ । आठमध्ये ५ सदस्य देशले सहभागिता नजनाउने निर्णय गरेपछि आगामी नोभेम्बर ९ र १० मा पाकिस्तानको राजधानी इस्लामावादमा हुने भनिएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को १९ औं शिखर सम्मेलन स्थगित भएको छ । 

आयोजक राष्ट्र पाकिस्तानको विदेश विभागले एक विज्ञप्ति जारी गर्दै सार्क सम्मेलन स्थगनको घोषणा गरेको हो । पाकिस्तानले सार्क सम्मेलन स्थगन हुनुमा भारत मुख्य दोषी रहेको बताएको छ । 

सार्कमा सहभागी नहुने औपचारिक घोषणा गरेको भारतले अन्य देशलाई समेत आफ्नो रणनीतिमा सहमत गराउन थालेको थियो । हुँदा–हुँदा अध्यक्षको नाताले नेपाल सरकारलाई समेत प्रभावमा पारेर दुई–दुई पटक विज्ञप्ति निकाल्न लगाइएको थियो । पहिलो विज्ञप्तिमा नेपालले सार्कको शिखर सम्मेलनका लागि सबै पक्षलाई वातावरण बनाउन आह्वान गरे पनि केही घण्टापछि आएको अर्को विज्ञप्तिमा भने आयोजक राष्ट्रले नै वातावरण बनाउनुपर्ने भनिएको थियो । 

अध्यक्ष नेपालले समेत भारतीय लाइनमै विज्ञप्ति निकालेपछि र शुक्रबार श्रीलंकाले समेत सार्कमा सहभागी नहुने स्पष्ट पारेपछि पाकिस्तानले स्थगनको घोषणा गरेको मिडिया रिपोर्टहरुमा बताइएको छ । हुन त सार्ककको ८ मध्ये कुनै एक सदस्य देशले सहभागिता नजनाए सम्मेलन स्थगन हुने प्रावधान छ । 

श्रीलंकाअघि भारत, भूटान, बंगलादेश र अफगानिस्तानले समेत पाकिस्तानमा हुने सम्मेलनमा सहभागी नहुने बताइसकेका थिए । 

पाकिस्तानको विदेश विभागले सार्कको १९ औं शिखर सम्मेलनको अर्को मिति चाँडै घोषणा हुने पनि दाबी गरेको छ ।