काठमाण्डौ । सरकार संचालनमै कठिनाई हुने गरी राज्यकोषमा संकट उत्पन्न भएका खबर बाहिरिइरहेको बेला नेपाल बैंकर्स संघले आफ्ना सबै सदस्य बैंकहरुलाई चैत मसान्तसम्मको कर तिर्न आग्रह गरेको छ । 

देशका वाणिज्य बैंकहरुका सीइओहरुको संगठन बैंकर्स संघको बैठकले यस्तो आग्रह गरेको हो । 

संघले आफ्ना सदस्य बैंकहरुलाई चैतसम्म तिर्नुपर्ने कर बुझाएर सरकारलाई सहयोग गर्न आग्रह गरेको एक बैंकरले जानकारी दिए । 

बैठकको यो निर्णयको बिषयमा संघले सबै बैंकहरुलाई पत्र समेत लेखेको छ । पत्रमा कर बुझाएर सरकारलाई सहयोग गर्न आग्रह गरिएको छ । 

सरकारले जेठ २५ गतेभित्र कर बुझाउने तागेता संसोधन गरी असार ७ गतेभित्र बुझाउन भनेको थियो । तर, सर्वोच्चले असार ७ गतेभित्र कर बुझाउने सरकारी तागेता खारेज गर्दै लकडाउन पूर्ण रुपमा खुलेको एकमहिनाभित्र कर बुझाउने व्यवस्था मिलाउन आदेश दिएसँगै सरकार अप्ठ्यारोमा परेको छ । 

सरकारको तर्फबाट सर्वोच्चको अन्तरिम आदेशविरुद्ध भ्याकेट हालिएको थियो । तर, त्यसलाई समेत सर्वोच्चले खारेज गरिदिएपछि सरकारको दैनिक कार्यसम्पादन संचालनका लागि स्रोत जुटाउने तनावमा अर्थमन्त्री रहेका छन् । उनैले संघका अध्यक्ष भूवन दाहालसँग सहयोग मागेपछि संघले औपचारिक रुपमै यस्तो निर्णय गरेको एक बैंकरले बताएका छन् ।