काठमाण्डौ । कोरोनाभाइरसको प्रभावबाट बेलायतको अर्थव्यवस्था बचाउन बैंक अफ इंग्ल्यान्डले करिब १०० अर्ब पाउन्डको बोन्ड खरिद गरेर बजारमा नगद प्रवाह बढाउने भएको छ।

बैंक अफ इंग्ल्यान्ड बेलायतको केन्द्रीय बैंक हो। यद्यपि बैंकले कोरोनाको प्रभावका कारण बेलायतमा पहिले अनुमान गरेभन्दा कम असर पर्ने जनाएको छ। 

यसका साथै बैंकले मुख्य ब्याजदरलाई ०.१ प्रतिशतको रेकर्डतोड स्तरमा राख्ने जनाएको छ। बैंकको यो निर्णयले विश्वका विभिन्न देशहरुमा बेलायतको लगानी भित्रिन सक्ने बताइएको छ। 

अप्रिल महिनामा बेलायतको अर्थतन्त्रमा २०.४ प्रतिशतको गिरावट आएको थियो। मार्च र मे महिनाको बीचमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको संख्यामा ६ लाखले कमी आएको थियो। तर बैंकका अनुसार अहिले बेलायतको अर्थतन्त्रमा तीव्र सुधार आइरहेको छ। 

बैंकका अनुसार मे र जुन महिनामा उपभोक्ता खर्चमा बढोत्तरी आएको छ। यसका साथै हाउजिङ क्षेत्रमा समेत सुधारका संकेतहरु देखिएका छन्। 

बजारमा नगद प्रवाह बढाउने घोषणासँगै बैंक अफ इंग्ल्यान्डको बोन्ड खरिद कार्यक्रमको आकार बढेर ७४५ अर्ब पाउन्ड पुगेको छ। नीतिनिर्माताहरुका अनुसार नगद प्रवाह बढाउँदा वित्तीय बजारलाई मजबुत बन्न सहयोग पुग्नुका साथै आर्थिक तीव्रता प्रदान हुनेछ। – एजेन्सी