काठमाण्डौ । अस्ट्रेलियाको ध्वजावाहक हवाई कम्पनी क्वान्टासले कम्तीमा पनि २० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यसका साथै कोरोनाको महामारीमा आफ्नो अस्तित्व बचाइराख्न कम्पनीले १.३ बिलयिन अमेरीकी डलर जुटाउने भएको छ। 

क्वान्टासमा काम गर्ने कुल २९ हजार कर्मचारीमध्ये करिब ६ हजार कर्मचारी कटौती गर्ने कम्पनीले जनाएको छ। यसका साथै कम्पनीले आफ्ना १०० वटा एअरक्राफ्टलाई १२ महिनासम्मका लागि ग्राउन्डेट गर्ने र ६ वटा बोइङ ७४७ लाई पूर्वनिर्धारित तालिकाविपरीत ६ महिनाअघि नै रिटायर गर्ने जनाएको छ। ‘जब आम्दानी न्यून हुनेछ तब हामीले आफूलाई धेरै वर्षसम्मका लागि तयार अवस्थामा राख्नुपर्छ’, क्वान्टासका कार्यकारी प्रमुख एलेन जोइसले तीनवर्षे योजना सार्वजनिक गर्दै भने। 

कम्पनीको यो तीनवर्षे योजनाअन्तर्गत करिब १ बिलियन डलर खर्च हुनेछ । विश्वका अन्य देशका हवाई कम्पनीजस्तै क्वान्टासले पनि कोरोनाको महामारीका कारण संकटको सामना गरिरहेको छ। 

अस्ट्रेलियन अधिकारीहरुले देशमा अर्काे वर्षसम्मका लागि अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने बताएका छन्। तथापि अस्ट्रेलिया अध्ययन गर्न आउने विद्यार्थी र लामो अवधिका लागि आउने यात्रुहरुका लागि भने नियमलाई केही खुकुलो बनाइने बताइएको छ। – एजेन्सी