काठमाण्डौ । भारतको सबैभन्दा चर्चित तथा लोकप्रिय टीभी गेम शो ‘कौन बनेगा करोडपति’ (केबीसी) यतिबेला प्रसारणको संघारमा छ।

यो गेम शोको १२ औँ संस्करण हो। अहिले यो संकरणमा भाग लिनेहरुको छनोट प्रक्रिया केही दिनयता चलिरहेको छ। 

कोरोना संकटका कारण जारी लकडाउनका बाबजुद मुम्बईमा टीभी सिरियल र फिल्मको सुटिङ बन्द थियो। तब भारतका महानायक अमिताभ बच्चनले आफ्नै घरबाटै यो गेम शोमा भाग लिनेहरुका लागि प्रश्न सोधेका थिए। यसको प्रोमो सुट पनि पहिलोपटक अमिताभकै घरमा गरिएको छ। 

यसपटक यो गेम शोमा भाग लिने प्रतिस्पर्धीको दर्ता प्रक्रिया अनलाइनबाट हुनेछ। छनोटका हुने सवाल–जबाफ पनि पहिलेजस्तै अनलाइनबाटै हुनेछ। तर टीभी शोककै इतिहासमा पहिलोपटक दर्शकलाई यसको अडिसन अर्थात सामान्यज्ञान परीक्षा र भिडियो प्रस्तुति पनि घरमै बसेर अनलाइनमार्फत गरिनेछ। यी सबै प्रक्रियापछि हुने अन्तिम चरणको पर्सनल इन्टरभ्यु (व्यक्तिगत अन्तर्वार्ता) पनि भिडियो कलका माध्यमबाट हुने सञ्चालकहरुले बताएका छन्। 

अहिले केबीसी सञ्चालनका विषयमा एउटा ठूलो प्रश्न खडा भएको छ। त्यो हो के अमिताभ बच्चन यसपटक यो शो होस्ट गर्न पाउनेछन् ? 

किनकि महाराष्ट्र सरकारले टीभी सिरिल र फिल्म सुटिङका लागि नयाँ नियम बनाएको छ। त्यो नयाँ नियममा एउटा यस्तो सर्त जोडिएको छ कि जसका कारण अमिताभ बच्चन यो शो होस्ट गर्न पाउने छैनन्। त्यो सर्त हो कोरोनाकालका क्रममा १० वर्षमुनि र ६५ वर्षमाथि उमेर समूहका मानिस कुनै पनि टीभी सिरिल वा फिल्म सुटिङ गर्न पाउने छैनन् अर्थात सुटिङ सेटमा बस्न पाउने छैनन्।

अहिले यस्ता कडा नियमको पालना गर्दै केही टीभी सिरियलहरुले सुटिङ सुरु गरेका छन्। तर केबीसीको सुटिङका लागि उमेरको यो हदबन्दीले ठूलो समस्या निम्त्याएको छ। किनकि अमिताभ बच्चनको उमेर ७७ वर्षको भइसकेको छ। 

केही टीभी कार्यक्रम निर्माता कम्पनी तथा संस्थाहरुले राज्य सरकारसँग कलाकारको उमेरको हदबन्दी खुकुलो पार्न अपिल गरेका छन्। यो अपिल सुनुवाइ हुन्छ वा हुन्न त्यो भविष्यले नै बताउनेछ। 

प्रायः दर्शकको अनुभव छ कि विना अमिताभ बच्चन केबीसी खल्लो हुन्छ। अब यो हेर्न बाँकी छ कि अमिताभ बच्चन यो उमेर हदबन्दीकै कारण केबीसी सञ्चालन गर्न नपाउने छन् कि छैनन्। – एजेन्सी