काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासमा सकारात्मक परिणाम आएकोमा अक्सफोर्ड विश्वविद्यालयलाई बधाइ दिएको छ। डब्ल्यूएचओले यो परिणामको स्वागत गर्दै कोरोनाविरुद्ध लडाइँ जित्न अझै पनि थुप्रै काम गर्न आवश्यक रहेको पनि औँल्याएको छ। 

जेनेभामा भएको प्रेस कन्फ्रेन्समा डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा माइक रेयानले अक्साफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्धको भ्याक्सिनमा प्राप्त गरेको सफलता सकारात्मक परिणाम भएको बताए। ‘तर अझै यो भाइरसविरुद्धको लडाइँ जित्न लामो कसरत बाँकी नै छ’, उनले भने। 

रेयानले अब यो भ्याक्सिनको ट्रायल विश्वभर ठूलो संख्यामा हुनुपर्ने बताए। उनले भने, ‘थुप्रै डाटा र उपचार खोज्ने दिशामा धेरै भ्याक्सिनमा काम भइरहेकोले निकै राम्रो परिणाम हो।’

अहिले विश्वभर कोरोनाविरुद्ध २३ भ्याक्सिनमा काम भइरहेको छ। 

डब्ल्यूएचओ प्रमुख डा टेड्रोस एडहोम गेब्रेयासिसले सफल भ्याक्सिन सबैले पाउनुपर्नेमा जोड दिएका छन्।