काठमाण्डौ । देशका तमाम उद्योगी व्यवसायीको छाता संगठन हो नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) । विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने नयाँ व्यवस्था भएपछिको पहिलो चुनावी महासंग्राममा महासंघ अहिले होमिएको छ । सधैंको चुनाव झै यो पटक समेत स्पष्ट रुपमा दुुई प्यानल चुनावी मैदानमा छन् । एकातिर वर्तमान अध्यक्ष पशुपति मुरारका, भाग्यमानी वरिष्ठ उपाध्यक्ष भवानी राणा तथा बैंकका निकै ठूला डिफल्टर भएर पनि ‘प्रभूू’को भूमिका खेलिरहने शौभाग्य प्राप्त गर्ने चण्डीराज ढकालको समूहबाट उपाध्यक्ष शेखर गोल्छा वरिष्ठ उपाध्यक्षका लागि मैदानमा उत्रिएका छन् । अर्कोतर्फ, गोल्छा भन्दा निकै वरिष्ठ, तर संगठन तथा कार्यकर्ता परिचालनमा केही कमजोर, आर्थिक रुपमा त झनै कमजोर किशोर प्रधान अर्को प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चुनावी मैदानमा छन् । प्रधानलाई सुरज वैद्य, कुशकुमार जोशी, भाष्करराज राजकर्णिकार लगायतको समर्थन छ । 

अहिले यी दुवै प्यानल विभिन्न उपाय लगाएर आम मतदाताहरुलाई आ–आफ्नो पक्षमा पार्ने अभियानमा जुटेका देखिएको छ । यीमध्ये स्वविवेकले र कुनै कुराको प्रभावमा नपरी मतदान गर्नेमा प्रतिशतको हिसाबले वस्तुुगत संघ र एशोसिएट देखिए पनि जिल्ला र नगर उद्योग वाणिज्य संघहरुमा भने तीव्र चलखेल देखिएको छ । देशको अर्थतन्त्रको सुधारका लागि सरकारको राम्रो आर्थिक सल्लाहकारको रुपमा प्रस्तुुत हुनुपर्ने महासंघको आगामी नेतृत्व सुनिश्चित गर्ने यो दौडमा निर्णायक बिषय चाहि आम मानिसले सोचेभन्दा फरक छ । एलिट वर्गहरुको चुनावजस्तो देखिने महासंघमा अजेण्डा, काम गर्ने क्षमता र उसले खेल्ने भूमिका हेर्नेहरु निकै कम छन् । स्रोतकाअनुसार महासंघका प्रत्येक चुनावमा झै यसपटक पनि निर्णायक तत्व उम्मेद्वारको एजेण्डा नभई पैसा, तरुनी र रक्सी नै हुनेछ । 

‘पैसा, तरुनी र रक्सीको राम्रो व्यवस्थापन जसले गर्न सक्यो, उसैले चुनाव जित्ने पक्का छ ।’ विगत लामो समयदेखि महासंघको चुनावी खेलमा संलग्न एक कार्यसमिति सदस्यले भने–‘विगतमा पनि यस्तै हुन्थ्यो, यसपटक नहुुने कुरै छैन । पैसा, तरुनी र रक्सीको छेलोखेलोको खेल सुरु भइसकेको छ ।’ ती सदस्यका अनुसार कतिपय जिल्ला तथा नगरका अध्यक्षहरु काठमाण्डौ आउने क्रम सुरु भइसकेको छ । र, पैसावाल उम्मेद्वारले उनीहरुका लागि धित मरुञ्जेल प्यास मेटाउने रक्सी र तरुनीको साथमा उपहारको रुपमा राम्रो पैसाको समेत व्यवस्था गर्न थालिसकेका छन् । 

जिल्ला नगर अध्यक्षको रेट १० लाख !
उद्योग वाणिज्य महासंघको चुनावमा उम्मेद्वारले अपत्यारिलो खर्चको जोहो गर्नुपर्छ । 

स्रोतका अनुसार १५ देखि २० वटासम्म जिल्ला तथा नगर अध्यक्ष पैसामा बिक्ने खालका छन् । यी जिल्लाहरुका अध्यक्ष तथा मतदातालाई जसले आफ्नो बनाउन सक्यो, उसैले चुनाव जित्ने रणनीतिकारहरु दाबी गर्छन् । कसरी फकाइन्छ त केही जिल्ला तथा नगरका अध्यक्षहरुलाई ? ‘यसअघिका अध्यक्षको पालाको कुरा गर्ने हो भने जिल्ला तथा नगर अध्यक्षलाई खरीद गर्नुपर्दाको रेट ६ लाख थियो ।’ स्रोतले भन्यो–‘अहिले चाहि एक जिल्ला वा नगर अध्यक्षका लागि भनेर वरिष्ठ उपाध्यक्षका उम्मेद्वारहरुले १० लाख ठीक पारेका छन् ।’ यतिले मात्र भोट आउने पक्का हुन्छ त ? स्रोतले १० लाख नगद उपहारबाहेक बिक्न तयार जिल्ला तथा नगरका अध्यक्षहरुलाई आउनेजाने जहाज भाडा, काठमाण्डौको भीआइपी होटलमा चुनाव अवधिभरि बसोबासको राम्रो व्यवस्था, उसले भने अनुसारको गुणस्तरको रक्सीको खोलाको साथमा उसले भने अनुसार तरुनीको व्यवस्था समेत गर्नुपर्छ । अनि कहाँबाट आउँछन् त तरुनी ? स्रोतले काठमाण्डौ, पोखरा र धरानका उच्च गुणस्तरका व्यवसायिक यौनकर्मीहरुलाई विशेष च्यानलबाट तयार गरिसकिएको  र मत पाउनका लागि मतदाताहरुले मागे अनुसार उपलब्ध गराइने चलन रहेको बताए । 

स्रोतका अनुसार जिल्ला तथा नगरबाहेकका केही एशोसिएसटतर्फका मतदाताहरुलाई पनि खरीद गर्नुपर्ने हुन्छ । यसरी हेर्दा यसपटक चुनाव जित्ने वरिष्ठ उपाध्यक्षले न्यूनतम ५ करोड रुपैयाँको चुनावी बजेटको जोहो गर्नुपर्ने देखिन्छ । 

दुुई वरिष्ठ उपाध्यक्षका उम्मेद्वारहरुमध्ये ५ करोड रुपैयाँको जोहो गर्नु शेखर गोल्छाका लागि गाह्रो नभए पनि किशोर प्रधानका लागि यो गाह्रो हुने देखिन्छ । कारण, किशोर प्रधान साना तथा मझौला उद्योगी मात्र हुन् । उनीसँग यति ठूलो खर्च गर्ने बजेट जोहो गर्नु निकै चुनौतिपूर्ण रहेको स्रोत बताउँछ । ‘अन्तिममा पैसाकै कारण किशोर प्रधानले पराजय व्यहोरे भने त्यसमा अचम्म नमान्दा हुन्छ ।’ स्रोतले भन्यो–‘शेखर गोल्छा समूहमा अन्य पैसावालहरु पनि प्रशस्त छन् । पैसामा मतदाता बिकेको अवस्थामा गोल्छाको जित निश्चित छ ।’