काठमाण्डौ । अब स्टक ब्रोकरहरुले आफ्नै टीएमएस(ट्रेडिङ मेनेजमेन्ट सिस्टम) बनाउने भएका छन् ।

पछिल्लो समयमा सेयर कारोेबारमा अधिक अनलाइन युजरका कारण टीएमएसमा समस्या आउन थालेपछि टीएमएसकै विषयमा नेप्से र ब्रोकरबीच वाकयुद्ध(आरोपप्रत्यारोप) चलिरहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार नेप्सेको सुपरीवेक्षण विभागसँग टीएमएसको मापदण्ड रहेको र सोही मापदण्ड अनुुसरण गरे ब्रोकरहरुलाई तुरुन्त आइटी पोलिसी अनुसार एपीआई दिइनेछ । हालसम्म टीएमएस बनाउनका लागि नेप्सेसम्म कुनै ब्रोकर नआएको उनको जिकिर छ ।

यता, स्टक ब्रोकरहरु भने नेप्सेले आइटी पोलिसी लागू नगरेकाले ब्रोकरहरु आफैंले टीएमएस बनाउने विषयमा अन्यौल रहेको बताउँछन् । स्टक ब्रोकर एसोसिएसनका कोषाध्यक्ष गुणनीधि भुसालले टीएमएस बनाउने विषयमा यही साता निर्णय हुनसक्ने जानकारी दिएका छन् । नयाँ टीएमएस बनाउने विषयमा ब्रोकरहरु अन्तिम चरणमा पुगेका र यही सातासम्म यो विषयले निश्कर्ष पाउनेछ । 

'हामी नेप्सेको भन्दा धेरै राम्रो टीएमएस ल्याउँछौं ।' उनले बिजशालासँग भने-'यदि सेबोन र नेप्सेले स्वतन्त्र रुपमा टीएसएस बनाउन दिने हो भने ब्रोकर कम्पनी एक्लै वा केही ब्रोकर कम्पनीहरु मिलेर तथा ५० वटै ब्रोकर मिलेर अन्तर्राष्ट्रिय स्तरमा सर्टिफाइड सिस्टम ल्याउनसक्ने क्षमता ब्रोकरहरुसँग छ ।'

नेप्सेले अनलाइन प्रणाली लागू गर्ने बेलामा ब्रोकरलाई टीएमएस बनाउन मौखिक निर्देशन दिएको उल्लेख गर्दैै कोषाध्यक्ष भुसालले नेप्से, ब्रोकर र वाइको प्रालि(नट्स सिस्टम भेण्डर कम्पनी)को सहमतिमै वाइकोलाई टीएमएसको जिम्मा दिइएको दाबी गरे ।

दिनानुदिन नेप्सेको अनलाइन प्रणालीमार्फत घरबाटै सेयर कारोबार गर्ने लगानीकर्ताहरुको संख्या उल्लेख्य बढिरहेको र डेटाबेसमा प्रयोग अत्यधिक हुँदा र सर्भरमा अत्यधिक भार बढ्दा टीएमएसको सेयर कारोबारमा समस्या आउन थालेको छ । हाल ६ ६ जना ब्रोकरको समूह बनाई सर्भर र डेटाबेस प्रयोग भइरहेकाले समेत नियमित कारोबार समयको अन्तिम समयमा सिस्टममा खरिदबिक्रीको आदेश प्रविष्टमा समेत समस्या आउन थालेको छ ।

निषेधाज्ञा र कोरोनाले गर्दा हिजोआज सेयर बजारमा नयाँ तथा पुराना लगानीकर्ताहरुको सक्रियता धेरै बढिरहेकाले समेत स्तरीय र एकल प्रयोजनका लागि स्टक ब्रोकर स्वयम्ले टीएमएस बनाउन जरुरी रहेको जानकारहरु बताउँछन् ।