काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा ८ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६/७७ को वित्तीय प्रतिवेदन बुझाउँदै वार्षिक साधारणसभा अनुमति माग गरेका छन्। 

राष्ट्र बैंक स्रोतका अनुसार एनआईसी एसिया, सानिमा, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंक सुपरिवेक्षण विभागमा वित्तीय प्रतिवेदन पठाउँदै वार्षिक साधारणसभाको अनुमति मागेका हुन्। तीमध्ये माछापुच्छ्रे बैंकले साधारणसभाको ‘प्रि–अप्रुभल’ पाइसकेको छ। अब अन्तिम स्वीकृति लिनमात्र राष्ट्र बैंकले जनाएको छ।

यही साताभित्र स्वीकृति पाए माछापुच्छ्रे बैंकले दसैंअघि साधारणसभा गर्न सक्ने सम्भावना रहेको छ। 

हाल यी बैंकहरुको प्रि–अप्रुभलको कामहरु भइरहेको राष्ट्र बैंक स्रोत बताउँछ। ‘तर कोरोना संक्रमणका कारण स्वभाविक गतिमा काम हुन सकिरहेको छैन’, एक अधिकारीले भने। 

यसपालि दसैं ढिला भएकाले सामान्य अवस्थामा थुप्रै बैंकहरुले दसैँअघि नै साधारणसभा गरेर सेयरधनीलाई लाभांश बाँडिसक्थे। तर कोरोना संकटका कारण सबैतिर प्रभाव पर्दा ढिलाइ हुने पक्का रहेको राष्ट्र बैंक स्रोत बताउँछ।

त्यसो त नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुमा कोरोना संक्रमण देखिएको असर बैंक तथा वित्तीय संस्थाहरुको साधारणसभामा पर्ने भएको छ। 

डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि गभर्नर महाप्रसाद अधिकारी, अर्का डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलगायतका कतिपय विभागीय प्रमुखहरु होम आइसोलेसनमा छन्। ‘बैंकहरुको साधारणसभाका लागि स्वीकृति दिनुअघि बैंकहरुको प्रतिवेदन अध्ययन गर्नुपर्ने हुन्छ’, एक उच्च अधिकारीले भने, ‘अहिले धेरैजसो कर्मचारीहरु आइसोलेसनमा बसेका छन्। कतिपयले घरैबाट राष्ट्र बैंकको कामहरु गरिरहेका छन्।’