काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई पनि कोरोना पोजिटिभ भएको छ । 

रिमालले ट्वीट गरी हिजो पीसीआर परीक्षणका लागि स्वाब दिएको उल्लेख गर्दै आज त्यसको रिपोर्ट पोजिटिभ आएको बताएका हुन् । 

यसअघि प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पनि आफूलाई कोरोना पोजिटिभ भएको बताएका थिए । 

केही दिनअघि प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या शाहलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । 

यसैगरी, ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण पुष्टि भएको छ । 

ओलीका किचन क्याबिनेटका सदस्यहरुलाई धमाधम कोरोना संक्रमण भएसँगै ओलीलाई पनि संक्रमणको जोखिम हुने संभवना प्रवल भएको छ । यो पटक ओलीको स्वाब परीक्षणका लागि लगिएको थिएन । उनको स्वाब संकलनको तयारी भइरहेको बालुवाटारस्थित स्रोतले जनाएको छ । यो पटक ओलीलाई समेत कोरोना संक्रमण हुने संभावना बढेको छ । 

दोश्रो पटक मृगौला प्रत्यारोपण गरी स्वास्थ्यलाभकै अवस्थामा रहेका ओलीलाई कोरोना संक्रमण भए अवस्था निकै गम्भीर हुनसक्ने भन्दै चिकित्सकहरुले उनलाई बारम्बार सचेत गराउँदै आएका छन् । तर, ओलीले दिनहुँ भेट गर्ने रिमाल र भट्टराईलाई नै कोरोना पोजिटिभ भएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समेत आतंक मच्चिएको छ ।