काठमाण्डौ । अहिले सारा विश्व कोरोनाविरुद्धको भ्याक्सिनको पर्खाइमा छ। विश्वका केही दिग्गज कम्पनीहरुले विकास गरेका भ्याक्सिनको अन्तिम ट्रायल पनि लगभग सकिने अवस्थामा पुगेको छ। उनीहरु आफूले तयार पारेको भ्याक्सिनको अन्तिम स्वीकृति लिएर आपतकालीन प्रयोगका लागि तयार भइसकेका छन्। 

तिनैमध्ये केही ठूलो कम्पनीहरुले आफ्ना भ्याक्सिनलाई विश्व बजारमा विस्तारको गृहकार्य गरिरहेका छन्। जसमा रुसको स्पुतनिक भी तथा अमेरिकाको फाइजर र मोडेर्ना कम्पनीले विकास भ्याक्सिनको चर्चा अहिले निकै छ। 

अब यी भ्याक्सिन विश्व बजारमा कतिमा उपलब्ध होला भन्ने जानकारी पाउन सबै उत्सुक छन्। यीमध्ये रुसको स्पुतनिक भी भ्याक्सिनको मूल्य फाइजर र मोडर्नाको तुलनामा कम हुने विश्वकै पहिलो पञ्जीकृत भ्याक्सिनको अफिसियल ट्विटर ह्यान्डलले जानकारी गराएको छ। 

खबरअनुसार फाइजरको घोषित मूल्य प्रतिडोज १९.५० डलर (२ हजार ३०० रुपैयाँ) पर्नेछ भने मोडर्नाको प्रतिडोज २५ डलर (२ हजार ९५० रुपैयाँ) देखि ३७ डलर (४ हजार ३७५ रुपैयाँ) सम्म पर्छ। यी दुवै कम्पनीको भ्याक्सिनभन्दा स्पुतनिक भीको मूल्य निकै कम हुने भनिएको छ। तर यो भ्याक्सिनको आधिकारिक मूल्य सार्वजनिक भइसकेको छैन। 

​संक्रमितलाई यी तीनैवटा भ्याक्सिनका दुई डोज लगाउनुपर्ने हुन्छ। 

यीमध्ये फाइजर र मोडर्ना भ्याक्सिनको भ्याक्सिन ९५ प्रतिशतसम्म र स्पुतनिक भी ९२ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरिएको छ। – एजेन्सी