काठमाण्डौ। गाडी चलाउँदा दिमाग सधैँ सक्रिय राख्नुपर्छ। दिमाग सक्रिय रह्यो भने सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ।

कहिलेकाहीँ गाडी चलाउँदाचलाउँदै ब्रेक फेल हुन्छ। यस्तो स्थिति निकै दुलर्भ हुन्छ। तर यदि चालकको दिमाग शान्त र सक्रिय भने ब्रेक फेलकै कारण हुने दुर्घटनाबाट जोगिन सक्छ। किनकि ब्रेक फेल भएपछि चालक नर्भस हुँदा प्रायः दुर्घटना हुने गरेको पाइन्छ।

यहाँ हामी कारको ब्रेक फेल भएको स्थितमा के गर्ने र के नगर्ने भन्ने विषयमा चर्चा गर्न गइरहेका छौँ। यद्यपि यदि तपाइँ कार चलाउँदै हुनुहुन्छ र कथमकदाचित ब्रेक फेल भइहालेमा संयमता अपनाउनुहोस्। किनकि यस्तो परिस्थितिमा तपाइँ असंयमित र डराउनुभयो भने सम्भावित दुर्घटना टार्न मुस्किल हुन सक्छ। 

ब्रेक फेलबाट हुने सम्भावित दुर्घटना टार्न यहाँ केही टिप्स् उल्लेख गरेका छौँ। ध्यान दिनुहोला। 

ब्रेक फेल के कारणले हुन्छ ?

कारको ब्रेक फेल हुनुको मुख्य कारण ब्रेक फ्लुड आयल लिक हुनु हुन सक्छ। अर्को कारण ब्रेक मास्टरले काम नगर्दाको अवस्थामा ब्रेक फेल हुन्छ।

कार चलाउँदा जब हामी कारको ब्रेकको पेडल दबाउँछौँ तब ब्रेक फ्लुड हाइड्रोलिक प्रेसर सिर्जना गर्छ, जुन टायरमा जडित ब्रेक प्याड्ससम्म जान्छ। जुन कारमा डिस्क ब्रेक हुन्छ ती कारको ब्रेक प्याड्स डिस्कको दुवैतर्फ जडित प्याड्समा डिस्कलाई दबाब सिर्जना गर्छ। जसले पांग्रालाई घुम्न बन्द गर्छ। तर जुन कारमा ड्रम ब्रैक हुन्छ, ती कारको ब्रेक प्याड्स पांग्रालाई दबाब दिएर गाडी रोक्न मद्दत गर्छन्।

कारको ब्रेक फेल हुँदा के गर्ने ?

१. एक्सिलेटर र क्लच नदबाउने – कारको ब्रेक फेल हुँदाको अवस्थामा सबैभन्दा पहिले एक्सिलेटरबाट खुट्टा हटाउनुहोस्। साथै क्लच पनि नदबाउनुस्। क्लच दबाउँदा गाडी निकै स्मुद हुन्छ।

२. गियर चेन्ज गर्नुहोस् – दोस्रो काम भनेको गियर चेन्ज गर्नुहोस्। तपाइँले आफ्नो कारलाई पहिलो गियरमा ल्याउनुपर्छ। गियर चेन्ज गर्दा क्लच नदबाउनुस्। कार जब पहिलो गिरमा आउँछ इन्जिनमा लोड पर्छ र स्पिड कम हुन थाल्छ।

३. ब्रेक पेडल बारम्बार दबाउनुस् – ब्रेक फेल भएमा बारम्बार ब्रेक पेडल दबाउनुस्। कतिपय अवस्थामा ब्रेक अड्केको हुन सक्छ। यदि अड्केको रहेछ भने बारम्बार ब्रेक पेडल दबाउँदा पुनः काम गर्न सक्छ।

४. हर्न बजाउनुस्, लाइट अन गर्नुस् – यस्तो अवस्थामा तपाइँको कारभन्दा अगाडि चलिरहेको अन्य गाडीहरुलाई अलर्ट गर्न बारम्बार हर्न बजाउनुस्। कारको हेडल्याम्प पनि अन गर्नुहोस्। साथै इमरजेन्सी लाइट पनि अन गर्नुहोस्।

५. एसी अन गर्नुहोस्, ग्लास डाउन गर्नुहोस् – ब्रेक फेल भएको अवस्थामा कारको एसी अन गर्नुहोस्। मौसम चिसो छ भने एसी विंग्सको डाइरेक्सन आफूबाट हटाउनुहोस्। साथै कारको सबै ग्लास डाउन गर्नुहोस्। यसले बाहिरको हावा कारभित्र आउँछ, जसका कारण कारको रफ्तारमा कमी हुन्छ।

६. ह्यान्डब्रेक विस्तारै–विस्तारै तान्नुहोस्– अब सबैभन्दा जरुरी काम भनेको ह्यान्डब्रेक तान्नु नै हो। तर यो कुरालाई ध्यानमा राख्नुहोस् कि ह्यान्डब्रेक विस्तारै–विस्तारै तान्नुपर्छ। जब ह्यान्डब्रेक माथि आउँछ तब स्पिड कम हुन सुरु हुन्छ।

७. खाली ठाउँमा कार लैजानुहोस् – ब्रेक फेल भएको अवस्थामा तपाइँले यताउती खाली ठाउँलाई पनि ध्यान दिनुपर्छ। जस्तै खेत, मैदान वा अन्य खाली ठाउँ। यस्ता ठाउँमा आफ्नो कार लैजानुहोस्। तर यस्ता ठाउँहरु सडकबाट समानान्तर स्थानमा हुनुपर्छ। नत्र कार पल्टिन सक्छ।

ब्रेक फेल हुँदा के नगर्ने ?

१. नडराउनुहोस् – यो सबैभन्दा महत्वपूर्ण कुरा हो। यदि यस्तो स्थितिमा तपाइँ डराउनुभयो भने ब्रेक फेल भएको कारमाथि नियन्त्रण गमाउनुहुनेछ र सम्भावित दुर्घटना हुन सक्छ। तर यदि तपाइँ संयम भएर कारमाथि नियन्त्रण राखिराख्नुहुन्छ भने दुर्घटनाबाट बच्न सक्नुहुन्छ। 

२. ह्यान्डब्रेक तत्काल नतान्नुहोस् – यदि तपाइँको कार स्पिडमा छ र ब्रेक फेल भयो भने तुरुन्त ह्यान्डब्रैक नतान्नुहोस्। यदि तपाइँले ब्रेक फेल भएको थाहा पाउनेबित्तिक ह्यान्डब्रेक तान्नुभयो भने कार पल्टिन सक्छ। त्यसैले संयम भएर विस्तारै–विस्तारै ह्यान्डब्रेक तान्नुहोस्।

३. अन्य गाडीसँग ठोक्किनबाट बच्नुहोस् – ब्रेक फेल भएको अवस्थामा गाडी रोक्न कतिपयले आफ्नो गाडी अरु गाडी वा कुनै चिजसँग ठोक्काउन चाहन्छन्। तरले यसले ठूलो दुर्घटनामा जोखिम हुन्छ। त्यसैले संयम भएर कार नियन्त्रणको प्रयास गर्नुहोस्। – एजेन्सीहरुको सहयोगमा