काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष लगायतका महत्वपूर्ण पदहरुका लागि आज बिहानैदेखि मतदान भइरहेको छ । 

महासंघको विधानमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन पाउने व्यवस्था रहेकोले यसपटक सो पदका लागि निकै कडा प्रतिस्पर्धा भएको छ । 

महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानबीच नेक टू नेक प्रतिस्पर्धा हुने स्रोतहरुले बताएका छन् । 

व्यापारी उद्योगीको चुनाव भएकोले समेत एफएनसीसीआईको नेतृत्व छनौटमा पैसाको पनि ठूलो खेल हुने गर्दछ । मतदानको अघिल्लो दिन शुक्रबार रातभर र शनिवार बिहानको रातिसम्म पनि वरिष्ठ उपाध्यक्षका उम्मेद्वार र उनीहरुका विभिन्न दूतहरु साम, दाम लगायत सबै उपाय लगाएर मतदाता आफ्नो पक्षमा पार्ने खेलमा व्यस्त थियो । यो क्रममा लाखौं रुपैयाँमा मतको किनबेच समेत भएको मतदाताहरु स्वयम्ले बताएका छन् । 

'रातभर उम्मेद्वारहरुको दौडधूप जारी रह्यो । खाना खाँदा बिहानको साढे ३ बजिसकेको थियो ।' एक जिल्ला वाणिज्य संघका अध्यक्षले बिजशालासँग भने-'अन्तिम अवस्थामा पैसाको राम्रो खेल भयो ।' 

पैसाको राम्रो खेल भएकोले परिणाम सोचेजस्तो र अनुमान गरेजस्तो नआउने संभावना बढेको जिल्लानगरकै मतदाताहरु बताउँछन् । 

'तर, जस्तो परिणाम आए पनि ढकाल र प्रधानबीच नेक टू नेक प्रतिस्पर्धा हुने अवस्था बनेको छ ।' स्रोतहरु भन्छन्-'यो पटकको महासंघको चुनाव निकै रोचक समेत देखियो ।' 

यी कारणले हुनसक्छ उलटपुलट
चुनावी प्रतिस्पर्धामा दुवै पक्षबाट खेलाडीको रुपमा चिनिएका प्रतिनिधिहरुसँग गरिएको अनौपचारिक कुराकानीको क्रममा यो पटकको निर्वाचनको परिणाम विभिन्न कारणबाट प्रभावित हुनसक्ने अवस्था देखिएको बताए । ती कारण के के हुन त ? 

एउटा कारण, पैसाको खेल । जसले बढी पैसाको खेल खेलेर मतदाता आफ्नो पक्षमा पार्न सक्यो, उसले बाजी मार्ने भयो । तर, दुवै पक्षबाट पैसा लिएर मत चाहिँ स्वविवेकले हाल्ने मतदाता समेत रहेकोले यो कारण सोचेजस्तो बलियो भने नहुनसक्छ ।  

दोश्रो कारण, जातीय प्रेम । यो पटकको निर्वाचनमा जाति विशेषलाई पनि मतदाताले हेरेका र सोहीअनुसारको अभियान भित्री रुपमा चलाइएको समेत उनीहरु बताउँछन् । 

तेश्रो कारण, क्षेत्रीयता । क्षेत्रगत हिसाबले समेत यो पटकको मतदानमा मतदाताहरुले निर्णय गर्नसक्ने देखिएको ती अधिकारीहरु बताउँछन् । अन्तिम अवस्थामा आफ्नो क्षेत्रको उम्मेद्वारलाई सपोर्ट गर्ने रणनीति बनाएका कारण समेत मतपरिणाम सोचेजस्तो नआउने संभावना बढेको छ । यसपटकका वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार किशोर प्रधान सुदुरपूर्वका हुन् भने चन्द्रप्रसाद ढकाल पश्चिमका । यसकारण समेत क्षेत्रगत हिसाबले समेत मत आउने र त्यसले समेत अन्तिम परिणाम प्रभावित गर्नसक्ने संभावना देखिएको छ । 

चौथो कारण, राजनीतिक लाइन । यो चुनावमा राजनीतिक लाइनले मात्र काम गरेको छैन, नेकपाभित्रको विवादको प्रभाव समेत मतपरिणाम देखिने संभावना बढेको छ। चन्द्र ढकाललाई केपी ओली निकट भन्दै प्रचार गरी नेकपाकै माधव नेपाल र प्रचण्ड पक्षका व्यवसायीहरुको मत आफ्नो पक्षमा पार्ने किशोर प्रधानको प्रयास देखिएको छ । यसका साथै प्रजातान्त्रिक लाइनका व्यवसायीहरुको मतले पनि विशेष अर्थ राख्छ । यस्तो मत कता जान्छ, त्यसले समेत वरिष्ठ उपाध्यक्षको अन्तिम मतपरिणाम प्रभावित हुने देखिएको छ । 

पाँचौ कारण, व्यवसायिक पृष्ठभूमि । यो पटकको चुनावमा व्यवसायिक पृष्ठभूमिले समेत काम गर्ने देखिएको छ । जस्तो कि बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असूलेका भन्दै हिजोको दिनमा किशोर प्रधानको नेतृत्वमा आन्दोलन नै भएको थियो । यो विषयले बैंक तथा वित्तीय संस्थासँग रहेको ५० भन्दा बढी मत एकलौटी रुपमा चन्द्रप्रसाद ढकाललाई जाने निश्चित झै देखिएको छ । ढकाल स्वयम् नै देशको सबैभन्दा ठूलो बैंकको अध्यक्ष भएको नाताले समेत बैंक तथा वित्तीय संस्थाको भोट किशोर प्रधानलाई जाने छैन । यस्ता विषयले समेत यो पटकको मतपरिणाम प्रभावित हुने देखिन्छ ।