काठमाण्डौ । नेपालको बीमा नियमनकारी निकाय बीमा समिति हालसम्म दाबीभुक्तानीको संख्या ८ हजार १४५ रहेको जनाएको छ। 

समितिले बिहीबार एक सूचना जारी गर्दै कागजात पूरा भएका कुल १७ हजार २३५ आवेदकमध्ये मंसिर २४ गतेसम्म ८ हजार १४५ आवेदनले दाबीभुक्तानी पाएको जनाएको हो। अब सबै कागजात पूरा भई दाबीभुक्तानी गर्न बाँकी रहेको आवेदकको संख्या ९ हजार ९० रहेको छ।

यसैगरी बीमा समितिले कागजात नपुगी पुनः निर्जीवन बीमा कम्पनीहरु फिर्ता भएको दाबीभुक्तानी आवेदनको संख्या १ हजार १३६ रहेको जनाएको छ। समितिका अनुसार भेरिफिकेसन लागि स्वास्थ्य सेवा विभागमा पठाएको आवेदनको संख्या ४ हजार १५२ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भेरिफिकेसन भएर आएको संख्या २ हजार ४९३ रहेको छ। 

यसैबीच बीमा समितिले विभिन्न सञ्चारमाध्यममा बीमितले कोरोना बी दाबीभुक्तानी पाउन नसकेको भन्दै समाचार आएको प्रति ध्यानार्षण भएको जनाएको छ। समितिले कोरोनाको असर र बीमितको दाबीभुक्तानीमा आवश्यक सबै कागजपत्र नपुग्दा र परेका आवेदनको प्रमाणीकरणका लागि समय लागेको हुँदा केही ढिलाइमात्र भएको स्पष्ट पारेको छ।

कोरोना महामारीका कारण सबैभन्दा धेरै गत असोज र कात्तिकमा बढी मानिस संक्रमण भएको र उक्त समयमा बीमा कम्पनीहरुका कार्यरत कर्मचारीहरु र बीमा समितिका कर्मचारीहरुसमेत संक्रमित हुन पुग्दा ती महिनामा दाबीभुक्तानी प्रक्रिया अवरुद्ध हुन पुगेको समितिले जनाएको छ। उक्त अवधिमा बढी आवेदन चाप पर्न गएको र यो चाप कम भएपछि नियमित तवरले दाबीभुक्तानी सञ्चालन हुने समितिले स्पष्ट पारेको छ।

दाबीभुक्तानीका लागि बीमा पुल व्यवस्थापकका रुपमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ। निर्जीवन बीमा कम्पनीहरुले शिखर इन्स्योरेन्स कम्पनीका पठाएका केही दाबीभुक्तानीमा कागजात पूरा नभएको पाइएको समितिले जनाएको छ। त्यसैले त्यस्ता निर्जीवन बीमा कम्पनीहरुलाई दाबीभुक्तानी आवेदन फाइल पठाउँदा पूर्ण रुपमा रुजु गरेरमात्र पठाउन निर्देशन दिइएको समितिले जनाएको छ।