काठमाण्डौ । नेपालको क्यापिटल मार्केटमा पछिल्लो समय खुल्लामुखी सामूहिक लगानी कोषहरु(म्युचुअल फण्ड)को बजार समेत बिस्तार हुँदै जान थालेको छ । 

बजारमा सक्रिय मर्चेन्ट बैंकहरुमध्ये एनआइबिएल एस क्यापिटलले एक वर्षअघि एनआइबिएल सहभागिता फण्ड नामको खुल्लामुखी योजना संचालनमा ल्याएपछि अन्य मर्चेन्ट बैंकहरु समेत बिस्तारै खुल्लामुखी ल्याउन कस्सिएका छन् ।

पछिल्लो समयको बजारमा खुल्लामुखी फण्डको आधारशीला बनाउने र अन्य मर्चेन्ट बैंकहरुलाई पनि यसको संभावनाको विषयमा बाटो देखाउने काम एनआइबिएल एस क्यापिटलले गरेको देखिन्छ । लगानीकर्ताहरु पनि यो कम्पनीको खुल्लामुखी योजनामा बिना लगानी गर्न सक्रिय बन्दै गएका छन् ।

यसको प्रमुखमध्येको एउटा कारण यो योजनामा पूर्वघोषितभन्दा बढी लाभांश पाउनु पनि हो । अर्थात एनआइबीएल सहभागिता फण्डले पहिलो वर्ष ६ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको थियो, तर यसको इकाई खरीद गर्नेहरुले केही बढी अर्थात पहिलो वर्षमै ८.२५ प्रतिशत लाभांश पाइसकेका छन् ।

कम्पनीले गरेको प्रक्षेपण अनुसार आगामी वर्ष युनिटहोल्डरलाई १० प्रतिशत लाभांश दिन सकिनेछ । लाभांशको दर वार्षिक बढाउँदै लैजाने कम्पनीको योजनाका कारण पनि लगानीकर्ताहरु पनि बिस्तारै यस्ता फण्डहरुमा लगानी गर्न अभ्यस्त हुन थालेका क्यापिटलका अधिकारीहरु बताउँछन् । 

एनआइबीएल सहभागिता फण्डका युनिटहरु नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरुमार्फत किन्न सकिन्छ भने डिष्ट्रीब्युटर एजेन्टका रुपमा रहेको मुक्तिनाथ विकास बैंक र गुड्विल फाइनान्सबाट एनआइबीएल सहभागिता फण्डका युनिटहरु खरिदबिक्री गर्न सकिन्छ।

क्यापिटलले खुलामुखी म्युचुअल फण्डका बारेमा आफ्नो वेबसाइटबाट पनि जानकारी दिइरहेको बताएको छ ।

एनआइबीएल सहभागिता फण्डका स्किम न्याभ भ्यालूमा आधारित भई किनबेच हुन्छ । 

कम्पनीकाअनुसार बिहीबार एनआइबीएल सहभागिता फण्डको न्याभ भ्यालु १३.३४ रुपैयाँ प्रतियुनिट रहेको छ । यो स्किमका युनिटहरु क्यापिटलमा एकचोटि दर्ता भइसकेपछि मासिक रुपमा बिस्तारै किन्ने सुविधा समेत रहेको छ ।

हाल एनआइबीएल सहभागिता फण्डसँग उपलब्ध ५० प्रतिशत लगानी सेयर बजारमा हुने गरेको छ । अत्यधिक तरल रहेको एनआइबीएल सहभागिता फण्डका स्किममा बिदेशमा रहेका नेपालीहरुको समेत आकर्षण बढ्दै गइरहेको स्कीम म्यानेजर पोस्कर बस्नेतले बताएका छन् । 

एनआइबीएल सहभागिता फण्डको आकार हाल २२ करोड ९० लाख रुपैयाँ रहेको छ भने हाल यसको  बजार भ्यालू २९ करोड रुपैयाँ भन्दा बढी पुगिसकेको कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर सचिन्द्र ढुंगाना बताउँछन् । 

सूचना र कारोबारमा पादरर्शिता रहेको यो स्किमले निरन्तर बचत र लगानीलाई समेत विशेष प्राथमिकतामा राखेको छ । पिरियडिक हिसाबमा रकम निकाल्ने सुविधा अर्थात पेन्सन योजनाजस्तै स्किम समेत यसमा उपलब्ध छ । 

डिष्ट्रीब्युटर एजेन्टका रुपमा रहेका मुक्तिनाथ विकास बैंक र गुडविल फाइनान्समार्फत एनआइबीएल सहभागिता फण्डका स्किम सहजै खरिदबिक्री गर्न सकिन्छ । २ वर्षभित्र एनआइबीएल सहभागिता फण्डका युनिट बिक्री गरे होल्डिङ समयावधिका आधारमा १.५ प्रतिशत सेवाशुल्क तिर्नुपर्छ । खरिद गर्दा रु.२५ डीपी फी तिरे पुग्छ ।

कम जोखिम लिन चाहने तर, सेयरमा लगानी गर्न चाहनेहरु साना लगानीकर्ताहरु लागि यो फण्ड उपयुक्त र सुरक्षित देखिन्छ । 

हाल एनआइबीएल सहभागिता फण्ड खरिद गरिसकेपछि खल्ती, नेपाल इन्भेष्टमेन्ट बैंकको इबैंकिङ र कनेक्ट आइपीएसबाट पनि रकम भुक्तानी गर्ने व्यवस्था छ । आगामी दिनमा अन्य डिजिटल पेमेन्ट गेट्वे समेत खुला गर्दै लैजाने कम्पनीको योजना रहेको ढुंगाना बताउँछन्।

एनआइबीएल सहभागिता फण्डका स्किम हाल बिक्री गर्दा लगानीकर्ताले डीआइएस (डेबिट इन्स्ट्रक्सन स्लिप )बुझाउनुपर्छ तर अब इडीआइएस(इलेक्ट्रोनिक डेबिट इन्स्ट्रक्सन स्लिप)को सुविधा पनि निकट समयमा दिने तयारी भइरहेको छ । 

एनआइबीएल सहभागिता फण्डका सञ्चालक एनआइबीएल एस क्यापिटलले ५० करोड रुपैयाँको फण्डको आकार हाल २३ करोड रुपैयाँ हाराहारी रहेको र अब यसको आकारसमेत विस्तारै बढाउँदै लैजाने योजना रहेको बताएको छ ।

एनआइबीएल एस क्यापिटल निकट समयमा नै कर्पोरेट एड्भाइजरीमा पनि खरो रुपमा उत्रन गइरहेको छ ।

एनआइबिएललाई पछ्याउँदै.......
यसैबीच, खुल्लामुखी फण्डमा संभावना देखेर एनआइबिएल एस क्यापिटलको पद्चाप पछ्याउँदै अन्य मर्चेन्ट बैंकहरुले पनि यस्ता खालका स्किमहरु ल्याउने क्रम सुरु भइसकेको छ । एनआइसी एशिया क्यापिटलले हालै यस्तै स्कीम ल्याइसकेको छ भने सिद्धार्थ क्यापिटलले पनि सिद्धार्थ सिस्टेमेटिक इन्भेष्टमेन्ट स्किम नामको खुल्लामुखी योजना ल्याउने तयारी गरिरहेको छ । 

अन्य क्यापिटलहरुले पनि बिस्तारै खुल्लामुखी योजना ल्याउने कसरत सुरु गरिसकेका छन् । 

यसरी हेर्दा एनआइबिएल एस क्यापिटलको पद्चाप पछ्याउँदै अरु मर्चेन्ट बैंक पनि नेपाली बजारका लागि नौलो मानिएको खुल्लामुखी योजनातर्फ आकर्षित हुन थालेका छन् । यसले म्युचुअल फण्डमै पनि लगानीको विकल्प तयार गरिदिएको छ । धेरैवटा खुल्लामुखी फण्ड आउँदा लगानीकर्ताले छानी छानी राम्रा कम्पनीका योजनाहरुमा लगानी गर्नसक्ने अप्सन समेत पाएका छन्  ।

के हो खुल्लामुखी फण्ड ?
संसारभर म्युचुअल फण्डहरु २ किसिमका हुन्छन् । एक खुलामुखी र अर्को बन्दमुखी म्युचुअल फण्ड । नेपालमा बन्दमुखी आयोजनाहरु प्रशस्तै भएतापनि खुलामुखी म्युचुअल फण्डका योजनाहरु भने केही सीमित संख्यामा मात्रै छन् ।

सेयर बजारमा लगानी गरे सम्पत्ति कयौं गुणा बढ्ने सम्भावना रहन्छ तर, तौरतरिकाको अभावमा सेयर लगानीबाट घाटासमेत व्यहोनुपर्ने हुन्छ ।

यस्तै बजारमा प्रवेश गर्न चाहने तर थारै रकम सेयरमा लगानी गर्न चाहनेहरुका लागि म्युचुअल फण्ड आयोजनाहरुले विभिन्न स्किम ल्याएका हुन्छन् । नागरिक लगानीकोषको पनि खुलामुखी आयोजना छ भने एनआइसी एसिया क्यापिटलले समेत भर्खरै नयाँ खुलामुखी म्युचुअल फण्ड स्किम ल्याएको छ ।

खुलामुखी आयोजनाको निश्चित समयावधि तोकिएको हुँदैन । नेप्सेमा सूचीकृत भए पनि दोस्रो बजारमा यसको किनबेच हुँदैन । फण्ड सञ्चालक र यसका एजेन्टहरुमार्फत यो स्किमका युनिटहरु जुनसुकै बेला खरिदबिक्री गर्न भने पाइन्छ ।