काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेको दोस्रो दिन आवेदनको बाढी लागेको छ ।

आज चन्द्रागिरी हिल्सको आइपीओ आवेदनमा माग गरेभन्दा १३.१४ गुणा बढीले  आवेदन परेको हो ।

सीडीएससीका अनुसार आइतबार अपरान्ह पौने ५ बजेसम्म सम्ममा चन्द्रागिरीको आइपीओमा ८ लाख ६३ हजार ४४६ आवेदकले आवेदन दिएका छन् । उनीहरुले १ करोड ७० लाख २७ हजार ७९० कित्ता खरीदका लागि आवेदन दिएका छन् ।

चन्द्रागिरी हिल्सले गत शुक्रबार(आज)देखि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको हो। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। पहिलो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावितका लागि निष्कासन गरिसकेको छ।

दोस्रो चरणमा भने कम्पनीले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गरेको हो । यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १३ हजार ९६० कित्ताका लागि आवेदन दिन पाउनेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  यो आईपीओको निष्कासन बन्द छिटोमा पुस २८ गते र ढिलामा माघ ९ गते बैंकिङ समयपछि हुनेछ।