काठमाण्डौ । कोरोना संक्रमणको दर न्यून भएसँगै लगानीका क्षेत्रहरु जुर्मुराएका छन् । जसको फलस्वरुप पछिल्लो समय निक्षेप संकलनको तुलनामा कर्जा लगानी ह्वात्तै बढेको छ । 

नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का अनुसार पछिल्लो एकसातामा बैंकहरुमा रु. ५ अर्बले निक्षेप संकलन बढेको छ भने यही अवधिमा २४ अर्बले कर्जा लगानी बढेको छ । यसरी हेर्दा निक्षेप संकलनको गति भन्दा कर्जा लगानीको गति तीव्र रुपमा बढ्न थालेको देखिन्छ । यसले अवस्था सहज हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको देखिने एनबिएले जनाएको छ । 

एनबिएका अनुसार पुस १७ देखि २४ गतेभित्र निक्षेप र कर्जा लगानीको यस्तो फिगर देखिएको हो । 

यसअघिको साता अर्थात पुस १० देखि १७ गतेको अवधिमा निक्षेप संकलन २७ अर्बले बढेको थियो भने सोही अवधिमा २१ अर्बले कर्जा लगानी बढेको थियो । अघिल्लो साताभन्दा यो साता निक्षेपको तुलनामा कर्जातर्फको बढोत्तरी निकै सुखद देखिएको हो । 

एनबिएका अनुसार पुस १ देखि २४ गतेसम्मको अवधिमा  ४४ अर्बले निक्षेप बढेको देखिएको छ भने ६५ अर्बले कर्जा लगानी बढेको छ ।