काठमाण्डौ । यूकेमा कोरोनाभाइरस सङ्क्रमणका बिरामीहरूलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्ने एउटा नयाँ उपचारको परीक्षण सुरु भएको छ। मङ्गलवार एक बिरामीलाई उक्त उपचार उपलब्ध गराइएको बताइएको छ।

यो उपचार पद्धतिमा कुनै पनि भाइरस सङ्क्रमण हुँदा शरीरले निर्माण गर्ने 'इन्टरफेरोन बेटा' नामको प्रोटिन बिरामीलाई सुँघ्न लगाइन्छ। यसबाट बिरामीको शरीरको रोग प्रतिरोधी क्षमता सक्रिय भई सङ्क्रमणसँग जुध्न तयार हुने अपेक्षा गरिएको छ।

पहिलो चरणको तथ्याङ्कले यो उपचारले भेन्टिलेटर चाहिने वा गम्भीर अवस्थामा पुग्ने बिरामीहरू ८० प्रतिशतले घटाउने देखिएको थियो। यूकेमा यो उपचार पद्धतिका लागि प्रति बिरामी २,००० पाउन्ड लाग्ने र त्यहाँको अस्पतालको खर्चको हिसाबले यो धेरै नभएको बताइएको छ। मङ्गलवार ३४ वर्षीया अलेज्यान्ड्रा कन्सट्यान्टिनलाई परीक्षणको रूपमा यस्तो उपचार गरिएको छ। उनी सोमवार अस्पताल भर्ना भएकी थिइन्।

उपचार पद्धति देखाउन नर्सले उनलाई 'इनहेलर' दिएको र औषधिलाई बाफ बनाएपछि उनले फोक्सोमा पुग्ने गरी त्यसलाई श्वासबाट ग्रहण गरेकी थिइन्। उनले घरमा सानी छोरी रहेको र उनलाई भेट्न आफू आतुर रहेको बताइन्।

गत वर्ष गरिएको दोस्रो चरणको परीक्षणमा यो उपचार प्रभावकारी देखिएको थियो। बिरामीहरू निको हुने सम्भावना दुईदेखि तीन गुणाले बढेको औषधि उत्पादन गरिरहेको साइनार्जेन कम्पनीले जनाएको छ।

ती परीक्षणमा बिरामीमा स्वाँस्वाँ हुने अवस्था निकै कम भएको र बिरामीले अस्पतालमा बस्नुपर्ने औसत समय नौ दिनबाट छ दिनमा झारेको बताइएको छ। तर ती परीक्षण १०० बिरामीमा गरिएको सानो परीक्षण थियो।

अहिले सुरु गरिएको परीक्षणमा भने २० देशमा ६०० बिरामी समावेश गरिनेछ। परीक्षणबाट सकारात्मक नतिजा आएपछि मात्रै सो औषधि उपचारमा प्रयोग हुन आवश्यक अनुमतिका लागि योग्य हुनेछ। – बीबीसीबाट