काठमाण्डौ । संसद विघटनपछि भएको सरकार पुनर्गठनका क्रममा उद्योग राज्यमन्त्रीबाट राजीनामा दिएका चर्चित उद्योगी मोतीलाल दुगडले राजनीतिक करिअरमा छलाङ मारेका छन् । 

राज्यमन्त्रीबाट सहमतिमै राजीनामा दिएका चर्चित उद्योगी दुगडले पदमा रहँदा निर्वाह गरेको महत्वपूर्ण भूमिकाको सम्मान गर्दै सरकारले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार बनाएको हो । 

यो पद मन्त्रीस्तरीय पद हो । राज्यमन्त्रीबाट राजीनामा दिएपछि दुगडले मन्त्री सोसरहको महत्वपूर्ण जिम्मेवारी पाएका हुन् । अझ स्मरणीय के भने अर्थमन्त्रीबाट राजीनामा दिएपछि डा. युवराज खतिवडाका लागि सिर्जना गरिएको यो पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी दुगडलाई लगेका हुन् । 

बालुवाटारस्थित उच्च स्रोतका अनुसार उद्योगी मोतीलाल दुगडलाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार बनाइएको छ । विशेष आर्थिक सल्लाहकार बनाइएको पत्र समेत दुगडलाई पठाइसकिएको छ । 

‘दुगड जीले राज्यमन्त्री हुँदा पनि फूल मन्त्री सोसरह राम्रो काम गर्नुभयो । यसैको मूल्याङ्कन गर्दै प्रधानमन्त्री ज्यूले उहाँलाई अझ ठूलो जिम्मेवारी दिनुभएको हो ।’ प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले बिजशालासँग भने–‘उहाँ मन्त्री सोसरहको हैसियतमा पुनः सिंहदरबार फर्किनुहुनेछ ।’

दुगडले समेत यो विषय पुष्टि गरे । सरकारको विशेष आर्थिक सल्लाहकारको रुपमा मन्त्री सोसरहको हैसियत कायम हुने गरी आफूले नयाँ जिम्मेवारी पाएको उनले प्रष्ट पारे । 'तपाई सबैको सहयोग र आशिर्वादले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको छु ।' उनले बिजशालासँग भने-'विशेष आर्थिक सल्लाहकारको रुपमा पनि मेरो ल्याकतले भ्याएसम्म प्रभावकारी काम गर्नेछु ।' 

यसअघिको समाचार:

डा. युवराज खतिवडाको ठाउँमा मोतीलाल दुगडलाई लैजाने तयारी