काठमाण्डौ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको ८ अर्ब रुपैयाँबराबरको आईपीओमा आवेदनको ओइरो लागेको छ।

आज अन्तिम दिन यो बैंकको आईपीओमा हालसम्मकै सर्वाधिक आवेदनको रेकर्डसमेत कायम गरेको छ। यसअघि चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा १२ लाख ५० हजार बढीले आवेदन दिएका थिए।

सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज अन्तिम दिनसम्म १५ लाख २ हजार ५३१ आवेदकबाट १७ करोड ७९ लाख ४६ हजार ७१० कित्ताका लागि आवेदन परेको छ। आज अन्तिम दिन भए पनि आस्बा माध्यमबाट पनि आईपीओ आवेदन गर्न सकिने भएकाले यो आवेदन र आवेदन गरिएको कित्ता बढ्नेछ।

बैंकले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। प्रतिकित्ता रु. १०० का दरले निष्कासन गरिएको यो आईपीओको कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पुँजी २० अर्ब पुग्नेछ।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था मध्यम, समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।