काठमाण्डौ ।  चन्द्रागिरी हिल्स लिमिटेडको प्रिअलटमेन्ट आज बुधबार हुने भएको छ ।

सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका सीइओ पारसमणि ढकालले चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओको प्रिअलटमेन्ट आज हुन गइरहेको जानकारी दिए । चन्द्रागिरीको आइपीओ बाँडफाँड भने आगामी शुक्रबार साँझ प्रयास गरेका छौं यदि भएन भने शनिबार बिहान गर्ने तयारी छ,ढकालले बिजशालासँग भने ।

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। 

आईपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा १७.५३ गुणाले बढी हो ।

यस आधारमा १ लाख ३९ हजार ६०२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ। बाँकी ११ लाख ११ हजारभन्दा धेरैको हात भने खालि हुने देखिएकोछ।