काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ प्रिअलटमेन्ट आज बुधबार भएको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका सीईओ पारसमणि ढकालका अनुसार यो आईपीओको प्रिअलटमेन्ट आज सम्पन्न भएको हो। जसअनुसार कुल परेकामध्ये १२ लाख ११ हजार ११५ आवेदन सदर भएका छन्। यी आवेदकले २ करोड २८ लाख २० हजार २१० कित्ताका लागि आवेदन दिएका छन्। 

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। 

आईपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन्। यो हिसाबले ३९ हजार ८९५ जनाको आवेदन बदर भएको छ। 

यस आधारमा १ लाख ३९ हजार ६०२ जना आवेदनकले १० कित्ताका दरले सेयर हात पर्ने देखिएको छ। बाँकी १० लाख ७१ हजार ५१३ आवेदकको हात भने खालि हुने देखिएको छ। 'चन्द्रागिरीको आईपीओ बाँडफाँड भने आगामी शुक्रबार साँझ प्रयास गरेका छौं, यदि भएन भने शनिबार बिहान गर्ने तयारी छ', ढकालले बिजशालासँग भने ।