काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओको बाँडफाँड शुक्रबार बिहान हुने भएको छ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यो आईपीओको बाँडफाँड शुक्रबार बिहान १० बजे हुने भएको हो। आईपीओ बाँडफाँड काठमाण्डौको नक्सालस्थित क्यापिटलको कार्यालयमा हुनेछ। 

यो आईपीआको प्रिअलटमेन्ट हिजो बुधबार सकिएको थियो। जसअनुसार कुल परेकामध्ये १२ लाख ११ हजार ११५ आवेदन सदर भएका छन्। यी आवेदकले २ करोड २८ लाख २० हजार २१० कित्ताका लागि आवेदन दिएका छन्। 

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। 

आईपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन्। यो हिसाबले ३९ हजार ८९५ जनाको आवेदन बदर भएको छ। 

यस आधारमा १ लाख ३९ हजार ६०२ जना आवेदनकले १० कित्ताका दरले सेयर हात पर्ने देखिएको छ। बाँकी १० लाख ७१ हजार ५१३ आवेदकको हात भने खालि हुनेछ।