काठमाण्डौ । कोरोना महामारीबीच पनि सिभिल बैंक लिमिटेडले आफ्नो व्यापार आक्रामक ढंगले अगाडि बढाएको छ। बैंकले कर्जा लगानी र निक्षेप संकलन बढाउनुका साथै खराब कर्जा ह्वात्तै घटाएको छ।

आज सार्वजनिक बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जामा निकै सुधार गरेको देखिएको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा दर १.७० प्रतिशतमा झरेको छ। जब कि गत वर्षको यही अवधिमा बैंकको खराब कर्जा दर २.६९ प्रतिशत थियो।

यसैगरी बैंकले समीक्षा अवधिमा ७६ अर्ब ८४ करोड निक्षेप संकलन गरी ६५ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ५७ अर्ब ५१ करोड निक्षेप संकलन गरी ५२ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। कर्जा लगानी र निक्षेप संकलनको तथ्यांक हेर्दा बैंकले आफ्नो व्यापार निकै आक्रामक पारेको प्रस्ताव हुन्छ। 

बैंकको आधार दर पनि घटेर ८.४५ प्रतिशतमा झरेको छ। गत वर्ष आधार दर १०.९८ प्रतिशत थियो।

बैंकले दोस्रो त्रैमाससम्म २० करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंक नाफा ३१ करोड ६२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा घटेर २६ करोड ९७ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो मुनाफा ४४ अर्ब ६२ करोड रुपैयाँ थियो।

बैंकले ९३ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यस्ता आम्दानी १ अर्ब १९ करोड रुपैयाँ थियो।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५.०७ रुपैयाँ रहेको छ। पीई रेसियो ४३.३९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२९.८३ रुपैयाँ रहेको छ।