काठमाण्डौ । नेपालको बैंकिङ इतिहासमा बहुचर्चित हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको संभावित मर्जरमा खटपट सुरु भएको छ । 

खटपटसँगै दुवै बैंकले एकआपसलाई छाड्नै परे नयाँ संस्था लिएर भए पनि ठूलो साइजको बन्ने प्रयासलाई अगाडि बढाएका छन् ।

दुवै बैंकस्थित उच्च स्रोतहरुका अनुसार यी दुई बैंकबीच मर्जरको प्रयास सुरु भएसँगै सुरुमै डिडिए थालिएको थियो । डिडिए रिपोर्टका आधारमा सेयर स्वाप अनुपात तय गरी मर्जरको एमओयू गर्ने तयारीमा पुग्न लागेका बेला दुई बैंकका संचालकबीच खटपट देखिएको हो । 

दुवै बैंकको डिडिए रिपोर्ट लगभग तयार भइसकेको छ । अब दुवै बैंकका संचालकबीच मर्जरका लागि एमओयू गर्ने सहमति बन्न आवश्यक छ । मर्जरको एमओयू गर्नुपर्ने बेलामा दुई बैंकका संचालक भने अन्य बैंकहरुसँग मर्जरको कुराकानीमा जुटेका छन् । यसलाई दुवै बैंकका संचालकले एकअर्कालाई तर्साउने र मनोवैज्ञानिक रुपले दवाबमा राख्ने रणनीतिको रुपमा लिएका छन् । 

मर्जर प्रयास निश्कर्षमा नपुग्दै भाँडिने हो कि भन्ने खालका गतिविधि नेपाल इन्भेष्टमेन्ट बैंकले गर्न थालेपछि हिमालयन बैंकका संचालकहरु बढी हच्किएका छन् । ‘उनी(इन्भेष्टमेन्ट बैंकका संचालक)हरु मर्जरमा चाँडो भन्दा चाँडो हामीलाई सहमत गराउनका लागि विभिन्न बैंकसँग मर्जरको छलफल गर्न थालेका छन्।’ हिमालयन बैंकका एक संचालकले बिजशालासँग भने–‘उनीहरुले हामीलाई धम्क्याउने, थर्काउने र मनोवैज्ञानिक रुपमा दवाबमा राखेर चाँडोभन्दा चाँडो मर्जरको एमओयू गर्ने रणनीतिमा देखिन्छन् । मर्जर भन्ने विषयमा हतारो गर्नु हुँदैन भन्ने हाम्रो प्रष्ट धारणा हो ।’ 

ती संचालकको दाबीअनुसार नेपाल राष्ट्रबैंकको कारबाहीमा परेको सनराइज बैंकसँग पनि नेपाल इन्भेष्टमेन्ट बैंकले एकचरणको छलफल गरेको छ । ‘तर, इन्भेष्टमेन्ट बैंकले केही कुरा नै नमिल्ने सनराइज बैंकसँग मर्जरका लागि छलफल गर्नु भनेकै हामीलाई धम्क्याउने बाहाना मात्र हो भन्ने हामीले बुझेका छौं । सनराइजसँग इन्भेष्टमेन्ट बैंकको कुनै पनि कोणबाट मर्जर हुने संभावना देखिन्न ।’ ती संचालकले थपे । सनराइजलाई मर्ज गर्ने गरी एनआइसी एशियाका संचालकहरुले कुरा अगाडि बढाइरहेका कारण हिमालयन बैंकका यी संचालकको तर्कमा दम देखिन्छ । 

सनराइजबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले एक राष्ट्रियस्तरको विकास बैंकलाई समेत प्राप्ति गर्न प्रयास गरिरहेको स्रोतले बताएको छ । ‘इन्भेष्टमेन्ट बैंकका संचालक र सीइओ गरिमा विकास बैंकलाई लिने प्रयासमा देखिएका छन्, तर गरिमा इच्छुक छैन ।’ इन्भेष्टमेन्ट बैंकस्थित उच्च स्रोतले भन्यो–‘त्यसबाहेक इन्भेष्टमेन्ट बैंकले पोखरा फाइनान्स र एक्सल डेभलपमेन्ट बैंकसँग पनि प्राप्तिका लागि कुरा गरिरहेको छ । पोखरा फाइनान्सका संचालक राम्रो मूल्य पाए इन्भेष्टमेन्ट बैंकमा बिलय हुन तयार देखिएका छन् ।’ 

एक्सल डेभलपमेन्ट बैंकले भने अन्य केही वाणिज्य बैंकसँग पनि कुरा गरिरहेको छ । यो बैंकका संचालक पनि बार्गेनिङ गरेर जता राम्रो मूल्य पाइन्छ, त्यतै जान खोजिरहेका छन् । 

हिमालयन बैंक पनि विकल्पका लागि तयार
अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरको छलफल चलाएर त्यो सूचना आफूहरुसम्म पुर्याउने काम गरेपछि रिसाएका हिमालयन बैंकका संचालकहरुले पनि इन्भेष्टमेन्ट बैंक छाड्नै पर्दाका विकल्प तयार गरेका छन् । 

उच्च स्रोतका अनुसार कर्मचारी सञ्चयकोषको क्रसहोल्डिङ रहेका बैंक अफ काठमाण्डू र सिभिल बैंकसँग विगतदेखि नै जारी छलफललाई अगाडि बढाइएको छ । ‘इन्भेष्टमेन्ट बैंक अर्को बाटो लागे हामी पनि बीओके र सिभिललाई लिएर अगाडि बढ्छौं ।’ हिमालयन बैंकका संचालकले भने–‘बीओके र सिभिलका साथीहरु पनि हामीसँग आउन तयार नै हुनुहुन्छ ।’ 

कहाँ बिग्रियो कुरा ?
हिमालयन बैंक आवश्यक सबै तयारी पूरा गरेर मात्र मर्जरको एमओयू गर्ने पक्षमा छ । डिडिए रिपोर्टसँगै मर्जरका कतिपय अप्ठ्यारा र पेचिला विषयमा पहिला नै सहमति कायम गरेर अगाडि बढ्नुपर्ने यो बैंकको अडान देखिन्छ । एकपटक एमओयू भएपछि कुनै पनि कारणले त्यो भाँडिने अवस्थामा पुग्नुहुन्न भन्ने आफूहरुको लाइन रहेको र सोही कारण आफूहरु मर्जरको एमओयूसम्म पुग्नलाई केही ढिलोजस्तो भएको संचालक बताउँछन् । ‘तर, इन्भेष्टमेन्ट बैंकका साथीहरुलाई आजभोलि नै मर्जरका लागि एमओयू चाहिएको छ ।’ ती संचालकले भने–‘हतारले हुँदैन । मर्जरजस्तो कुरामा पर्याप्त तयारी चाहिन्छ ।’ 

हिमालयन बैंकका संचालकहरु पछिल्लो समय पहिलाको तुलनामा थप बिग्रिएको नेपाल इन्भेष्टमेन्टसँग भरसक मर्जर गर्न नपाए हुन्थ्यो भन्ने पक्षमा देखिएका छन् । ‘कर्पोरेट गभरनेन्स अत्यन्त कमजोर छ ।’ हिमालयनका संचालकहरु इन्भेष्टमेन्ट बैंकमाथि ठाडै आरोप लगाउँदै भन्छन्–‘हामी निकै सिस्टेमेटिक छौं । सिस्टमभन्दा बाहिर रहेर तोकआदेशको भरमा काम हुने बैंकसँग मर्जरमा जाँदा त्यसको दीर्घकालीन प्रभाव के हुन्छ भन्ने विषय पनि हेरिन आवश्यक हुन्छ ।’

तर, इन्भेष्टमेन्ट बैंकका संचालकहरु भने हिमालयन बैंक मर्जरबाट भाग्न अनेक बाहाना खोजिरहेको दाबी गर्छन् । ‘यो सबै हिमालयन बैंकका बाहाना हुन्, सिभिल र बीओकेलाई लिएर आफू माथि पर्ने भएपछि हिमालयन बैंकले हामीसँग दूरी बढाउन थालेको देखिन्छ ।’ इन्भेष्टमेन्ट बैंकका एक संचालकले भने–‘यहीकारण हामी पनि हिमालयन बाहेकका विकल्पमा छलफल गर्न बाध्य भएका हौं ।’ 

दुवै बैंकका संचालकहरुको दाबीलाई आधार मान्ने हो भने छिटोमा आगामी सातासम्म हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरमा जान्छन् या जाँदैनन् भन्ने कुराको तय भइसक्नेछ । यदि यी दुईबीच बिग मर्जरको सहमति बनेन् भने  हिमालयनले सिभिल र बीओके उठाउनेछ भने इन्भेष्टमेन्ट बैंक पनि केही क्षेत्रीय स्तरका बैंकलाई उठाएर कुनै एक वाणिज्य बैंकसँग मर्जर गरी अगाडि बढ्ने संभावना देखिन्छ ।