काठमाण्डौ । संसद विघटनको विषयमा सर्वोच्च अदालतबाट अन्तिम फैसला आउने दिन नजिकिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सक्रियता बढाएका छन् । 

विराटनगरमा गएर संसद पुनस्र्थापनाको विषयमा विवादित अभिव्यक्ति दिएका ओलीले अवस्था असहज भए संकटकाल लगाउनेसम्मको तयारी थालेका उनी निकट स्रोतहरुले दाबी गरेका छन् । 

संसद विघटनविरुद्ध परेको मुद्धामा अदालतबाट आउनसक्ने संभावित फैसलाको विषयमा विश्लेषण गर्दै संकटकाल लगाउनेसम्मको सिफारिस राष्ट्रपतिसमक्ष गर्ने तयारीमा रहेका ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । आज ११ बजेदेखि बालुवाटारमा बसिरहेको बैठकमा हुनसक्ने संभावित निर्णयलाई निकै चासोको साथ हेरिएको छ । बैठक जारी छ । 

मन्त्रीपरिषदक बैठकपछि आजै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठकसमेत बोलाएका छन्। सो बैठकलाई समेत राजनीतिक वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले राष्ट्रिय सुरक्षा परिषदको बैठक नियमित भएको भने पनि यसलाई समेत ओलीले संकटकाल लगाउनुपूर्वको वस्तुस्थिति बुझ्ने गरी थालेको पूर्व तयारीको रुपमा हेरिएको छ । 

संसद पुनस्र्थापना हुँदा वा विघटन सदर हुँदा राजनीतिक उथलपुथल हुने आँकलनसहित आवश्यक परे संकटकाल लगाएरै भए पनि अगाडि बढ्ने मूडमा प्रधानमन्त्री ओली रहेका स्रोतहरुले दाबी गरेका छन् । 

स्मरणरहोस्, प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतले आजबाट ‘हेर्दा हेर्दै’मा राखेको छ । फागुन १५ गतेभित्र सो विषयमा सर्वोच्चको अन्तिम फैसला आउने देखिएको छ । 

प्रधानमन्त्री ओलीले संसद विघटन गरी बैशाखमा २ चरणमा चुनाव गर्ने घोषणा गरेका थिए । तोकिएको समयमा चुनाव गर्न असंभव भए सोच्दै नसोचिएको राजनीतिक संकट समेत आउनसक्छ । यस्ता संभावित संकटलाई दृष्टिगत गरी ओलीले संकटकालसम्मको गृहकार्य थालेका दाबी गरिएको छ ।

भारतीय गुप्तचर सक्रिय
यस्तै, भारतीय गुप्तचर संस्था रअका प्रतिनिधिसहितको भारतीय टोली विगत एक सातादेखि काठमाण्डौमा सक्रिय बनेको छ । काठमाण्डौको द्वारिकाज होटलमा बसेको सो टोलीले नियमितजसो गोप्य रुपमा राजनीतिक भेटघाटलाई तीव्रता दिइरहेको छ । सो टोलीले नेपालको संसद विघटनविरुद्ध परेको मुद्धामा सर्वोच्चको फैसला आउनुअघि देखाएको सक्रियतालाई समेत चासोको साथ हेरिएको छ । 

सेयर बजारलाई के प्रभाव पार्ला ?
राजनीतिक संकट गहिरियो भने त्यसले लगानीकर्तामा डरको मनोविज्ञान सिर्जना गरिदिन्छ । तर, यस्तो मनोविज्ञान धेरै दिनसम्म नरहनसक्छ । कारण, कोरोनाकालबाट भर्खरै लयमा फर्किदै गरेको अर्थतन्त्र राजनीतिक संकट गहिरियो भने थप समस्यामा पर्नसक्छ । नेपालको सन्दर्भमा अर्थतन्त्रका अन्य क्षेत्र सुस्त हुँदा सेयरबजारमा लगानी थुप्रिने गरेको इतिहास साक्षी छ । यसर्थ राजनीतिक अस्थिरता संकटतर्फ मोडियो भने अन्य लगानीको क्षेत्र सुस्ताउनेछ, जसका कारण सेयर बजार बुम हुने अवस्थामा पुग्नसक्छ । अन्य क्षेत्रको लगानी जोखिममा पर्ने विश्लेषणसहित विगतमा झै लगानीकर्ताको पैसा सेयर बजारमा थुप्रिनसक्छ ।