काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समितिका सदस्य मंगेशलाल श्रेष्ठकोे सभापतित्वमा गठित सूचना तथा सञ्चार प्रविधि विकास समिति विस्तार भएको छ। 

समितिका सहसभापतिहरूमा क्यान महासंघ नेपालका अध्यक्ष नवराज कुँवर, नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुली, नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धिताल र नेपाल सरकारका पूर्व सहसचिव वीरेन्द्र मिश्र छन्। समितिका सदस्यहरूमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौका दिपक भण्डारी, लोटस होल्डिङसका प्रमुख कार्यकारी निर्देशक अजित विक्रम शाह, ठमेल डटकमका संस्थापक बाल कृष्ण जोशी र नेपाली यूवा उद्यमी मंचका सुरक्षा अधिकारी छन्। 

त्यसैगरी समितिको सल्लाहकारहरूमा सूचना प्रविधि उच्चस्तरीय आयोगका पूर्वउपाध्यक्ष मनोहर भट्टराई, फ्युजमेसिनका प्रमुख कार्यकारी अधिकृत डा. समिर मास्के, वाइज्याक सोलुसनका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक सुरेश मानन्धर र गोल्छा अर्गनाइजेसनका सञ्जय गोल्छा छन्। 

समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघले तयार गरिरहेको भिजन पेपरमा पनि सूचना तथा प्रविधिलाई उच्च प्राथमिकता दिइएकोले सोे दस्तावेजलाई बढी उपयोगी बनाउन समितिबाट महत्वपूर्ण सुझावको अपेक्षा गरेको बताए। अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने यो क्षेत्रको विकासका लागि के गर्नुपर्छ त्यसका प्राथमिकताहरू तय गर्न समितिलाई सुझाव उनले दिए। ‘सोही प्राथमिकताहरूलाई महासंघको भिजन पेपरमा पनि समावेश गरिनेछ’, उनले भने, ‘समितिले तयार गरेको दस्तावेज तथ्य र अनुसन्धानमा आधारित र कार्यान्वयन गर्ने खालको होस्।’ 

अध्यक्ष गोल्छाले जुनसुकै मुलुकको आर्थिक विकासका लागि सूचना तथा प्रविधि क्षेत्रको योगदान निकै महत्वपूर्ण हुने उल्लेख गर्दै यस क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिने भएकाले समितिमार्फत मुलुकभित्र सूचना तथा प्रविधि क्षेत्रको विकासमा महासंघले महत्वपूर्ण योगदान दिन चाहेको स्पष्ट पारे। आईसीटीको विकासमा सरकारको पहल सुस्त देखिएको र सूचान प्रविधि पार्कको सही अर्थमा उपयोग हुन नसकेको गुनासो उनले गरे। 

कोभिडपश्चात सूचना प्रविधिको प्रयोग अझ बढ्न गएकाले अर्थतन्त्रसंग जोडिन सक्ने दूरदराजका किसान, आफ्नै पौरखमा रमाइरहेका ससाना उद्यमीव्यवसायीहरू र उनीहरूका उत्पादनलाई सीधै बजारसम्म जोड्ने प्रविधिको प्रयोग बढाउनुपर्ने सुझाव अध्यक्ष गोल्छाको थियो। ‘यसो हुन सक्यो भने त्यस्तो वर्ग अर्थतन्त्रको मूल प्रवाहमा समाहित हुन सक्छ’, उनले भने, ‘सूचना प्रविधिको विकासकै कारण कोभिड महामारीमा पनि आपूर्तिमा कुनै समस्या भएन, घर घरमा सामान पुग्ने वातावरण बन्यो।’

यसैबीच समिति सभापति श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले ई—कमर्शको विस्तारका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा आईसीटीका सम्भावनाहरूको पहिचान गरी सुझाव तयार गर्ने र आईसीटी विकास एवं विस्तार सम्बन्धी नीति, ऐन, नियम एवं सरकारी निर्णयको पुनरावलोकन गरी गर्नुपर्ने सुधार सम्बन्धमा राय सुझाव तयार गर्ने निर्णयसमेत गरेको छ।