काठमाण्डौ । निजी अनलाइन संचारमाध्यमहरुलाई सार्वजनिक निश्कासन भएका सेयरको नतिजा प्रकाशनमा रोक लगाएको सिडिएस एण्ड क्लियरिंग लिमीटेडले छुट्टै वेब पोर्टल तयार गरेको छ ।

आइपीओ लगायतका सार्वजनिक निश्कासनको रिजल्ट मात्र राखिने र सहज ढंगले हेर्न सकिने गरी सिडिएससीले नयाँ वेब पोर्टल तयार गरी सार्वजनिक गरेको हो । 

सिडिएससीले एक सूचना प्रकाशित गरी सार्वजनिक निश्कासन भएका धितोपत्र बाँडफाँडको नतिजा हेर्नका लागि आइपीओ रिजल्ट डट सीडीएसी डट कम डट एनपी(iporesult.cdsc.com.np) नामको छुट्टै वेबपोर्टल तयार भएको जानकारी दिएको छ । 

सिडिएससीका अनुसार अब उप्रान्त सार्वजनिक निश्कासनको नतिजा सार्वजनिक भएको केही समयमै सहज र सरल ढंगले यो वेब पोर्टलबाट हेर्न मिल्नेछ । 

नयाँ वेब पोर्टल छिटो, छरितो र सुरक्षित रहेको र एकसाथ धेरै लगानीकर्ताले समेत प्रयोग गर्न मिल्ने उच्च क्षमताको रहेको सिडिएससीको दाबी छ । 

उसले महिला लघुवित्तको आइपीओ बाँडफाँडको नतिजा समेत अब सहज ढंगले यही नयाँ वेब पोर्टलबाट हेर्न सकिने समेत प्रष्ट पारेको छ।

महिला लघुवित्तको आइपीओ रिजल्ट हेर्ने उच्च चापका कारण मेरो सेयर प्रभावित भएको वा नचलेकाले फागुन १३ गते कारोबार भई १६ गते हुने राफसाफ तथा फछ्र्यौट हुने कारोबारको इडीआइएस प्रविष्टि गर्न सकिने समयअवधि फागुन १६ गते बिहान ७ बजेसम्मका लागि कायम गरिएको समेत सूचनामा उल्लेख छ ।