काठमाण्डौ । कोभिड–१९ महामारीविरुद्ध लड्नका निम्ति संयुक्त प्रयासका रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गरी नबिल बैंक, स्वास्थ्य मन्त्रालय, एशियाली प्रकोप तत्परता केन्द्र (एडीपीसी), राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडीआरसी) र चौधरी फाउन्डेसनद्वारा स्थानीय अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि क्षमता वृद्धिको पहिलो संयुक्त पहल सुरु गरिएको छ। 

महामारीका लागि तत्परता र प्रतिक्रिया दिनका लागि एकदिवसीय अभिमुखीकरण कार्यक्रम ६ प्रदेशहरुमा सम्पन्न भइसकेको छ भने अर्को हप्ता कर्णाली प्रदेशमा कोभिड–१९ र अन्य स्वास्थ्य आपतकालीन/प्रकोपजस्ता महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ। दुवै सार्वजनिक र निजी स्वास्थ्य सुविधा र मानवीय संगठनहरूका २८० भन्दा बढी अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूले सक्रिय रूपमा एकदिवसीय अभिमुखीकरण कार्यक्रममा भाग लिएका थिए।

उक्त सन्दर्भमा यस राष्ट्रिय साझेदारी कार्यशालाले मुख्यतया प्रदेशहरूका मुद्दा, चुनौती, अनुभव र शिक्षालाई बाँड्न र सम्भावित संयुक्त साझेदारी र संसाधन जुटाउने अवसरहरूको पहिचान गर्न केही ठोस अनुगमन कार्यहरूको गतिलाई जारी राख्न, महत्वपूर्ण मञ्च प्रदान गर्दछ र अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूका लागि स्वास्थ्य आपतकालीन तत्परता र प्रतिक्रियाको सन्दर्भमा प्रशिक्षण पुस्तिकासहित ज्ञान आदानप्रदानमा मूल्यवान जानकारीहरूको खोजी गर्न मद्दत गर्छ।

स्वास्थ्य आपतकालीन प्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा यो अद्वितीय सार्वजनिक–निजी साझेदारी पहल हो। जुन संघीय, प्रदेशीय र स्थानीय सरकारी अधिकारीहरूले उनीहरूको कर्पोरेट सामाजिक उत्तरदायित्वका रूपमा निजी क्षेत्रबाट उल्लेख्य योगदान पुर्याएकोमा प्रशंसनीय छ। 

कोभिड–१९ जस्ता महामारीको बेला सरकार र नागरिक समाज संगठनहरूको पहललाई सहयोग पुर्याउन निजी क्षेत्रले स्थानीय रुपमा लचिलो स्वास्थ्य प्रणालीको निर्माण गर्न अझ बढी कदमहरु चाल्न सक्छन्। यो पहिलो संयुक्त पीपीपीले सबै सरोकारवालालाई गतिशीलता र साझेदारीलाई निरन्तरता दिन प्रोत्साहित गरेको छ। जसले नेपाललाई स्वास्थ्य आपतकालीन अवस्थामा विपद् थेग्न सक्ने राष्ट्रका रुपमा उभ्याउनेछ।