काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आइतबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ। 

प्रतिनिधिसभाको बैठकमा सरकारले संसद् नभएका बेला ल्याएका अध्यादेशहरु पेस गर्ने कार्यसूची राखेको विरोधमा प्रचण्ड–माधव समूहले संसद् बैठक बहिस्कार गरेको हो। बैठकको सुरुमै प्रचण्ड माधव समूहका सांसद् भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेस गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए। प्रतिनिधिसभाका वर्तमान र पूर्वसदस्य गरी १४ जनाको शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ । सरकारले संसद नभएका बेला ल्याएका विभिन्न ७ वटा अध्यदेश पनि संसदमा पेस गरेको छ। 

सभामुख अग्निप्रसाद सापकोटाले भने सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरु भएकै दिन पेस गर्नुपर्ने कानुनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको जबाफ दिएका थिए। 

त्यसपछि सांसद रावलले आफूहरुको विरोध रहेको बताए । सभामुख सापकोटाले विरोध रहे पनि संसद् बैठक अघि बढाउने बताएपछि प्रचण्ड–माधव समूहका सांसदहरु बैठक बहिष्कार गर्दै हलबाट बाहिरिएका छन्। 

सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि पहिलोपटक संसद बैठक सुरु भएको हो ।