काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले  महिलाद्वारा सञ्चालित उद्यमहरूको प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन्।

काठमाण्डौको होटल र्याडिसनमा सोमबार नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले यस्तो धारणा राखेका हुन्। उनले कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै जानु चिन्ताको विषय भएको पनि बताए। 

उपराष्ट्रपति पुनले सामाजिक राजनीतिक रुपान्तरणमा महिलाको महत्वपूर्ण भूमिका रहे पनि त्यो भूमिकाको वास्तविक सम्मान हुन नसकेको बताए। “संविधानले महिलाहरूलाई समान अधिकार दिएको छ, सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको छ”, पुनले भने, “विश्वमै नेपाल उदाहरणीय बनेको छ। तर कानुनले दिएका अधिकारहरूको व्यवहारिक कार्यान्वयनका लागि अझ धेरै काम गर्न बाँकी छ।”

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाहरूद्वारा सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानहरूलाई करमा विशेष छुट दिन आग्रह गरे। कृषि तथा जलविद्युत क्षेत्रमा जस्तै महिला सञ्चालित उद्यम व्यवसायहरूलाई बैंकहरूले ब्याजदर घटाउने गरी सरकारले नीति ल्याउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए। 

सरकारले महिलाद्वारा सञ्चालित व्यवसायलाई १५ लाखसम्म बिनाधितो ऋण दिने नीति लिए पनि विभिन्न झन्झट बेहोर्नुपरेको श्रेष्ठले बताए। “जति दिने हो, बिना झन्झट, स्वतःस्फुर्त पाउने व्यवस्था मिलाउन अनुरोध गदैछौँ”, उनले भने। 

अध्यक्ष श्रेष्ठले महिलाहरूले उत्पादन गरेका सामानहरू प्रयोग गर्न र विदेशसम्म निर्यात हुने वातावरण बनाउन आग्रह गरे। 

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले राजनीतिक आर्थिक अधिकार पाए पनि कार्यान्वयन फितलो हुँदा महिलाहरू लाभान्वित हुन नसकेको बताइन्। महिलालाई आर्थिक रुपले सक्षम नबनाई कानुनी अधिकारको पूर्ण उपयोग हुन नसक्ने उनको भनाइ थियो। 
महिलाहरूले गर्ने व्यवसायमा कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न श्रेष्ठले माग गरिन्। नेपाल महिला चेम्बरले महिलाहरूको क्षमता अभिवृद्धिमा कार्य गरिरहेको उल्लेख गर्दै उनले नीतिगत सुधारमा पनि आफूहरूले आवाज उठाइरहेको बताइन्। 
कार्यक्रममा नेपालका लागि युरोपियन डेलिगेसनका प्रमुख नोना डेप्रेज, श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुना तिलका र अस्ट्रेलियन राजदूत फेलिसिटी जेनिभल्क पनि उपस्थिति हुनुहुन्थ्यो। 

उक्त अवसरमा उपराष्ट्रपति पुनले तीनदिने ट्रेड फेयरको पनि उद्घाटन गरेका थिए। सोमबारदेखि सुरु भएको व्यापार मेला बुधबारसम्म चल्नेछ।

सोही अवसरमा महिला चेम्बरले पाँचजना महिला व्यवसायीहरूलाई सम्मान गरेको छ। सम्मानित हुने महिला व्यवसायीहरूलाई उपराष्ट्रपति नन्नदबहादुर पुनले सम्मानपत्र प्रदान गरेका थिए। आईटी एन्ड इन्नोभेसन अवार्डबाट अदिति गोयल, बिजनेस मोटिभेटर अवार्डबाट राधालक्ष्मी श्रेष्ठ, एग्रो आन्टरप्रेनर अवार्डबाट झापाको कन्काई महिला ग्रुप र महिला उद्यमी अवार्डबाट रेखा चौधरी शर्मा सम्मानित भएका थिए।