काठमाण्डौ । केही सातादेखि निरन्तर कर्जा प्रवाह बढिरहेकोमा बैंकहरुका निक्षेपभन्दा दोब्बरले ऋण प्रवाह भएको छ।
गत साता बैंकहरुले १३ अर्ब रुपैयाँ निक्षेप उठाएर २६ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका हुन् ।

अघिल्लो साता भने ११ अर्ब उठाएर २७ अर्ब ऋण प्रवाह गरेकामा एक महिनामै बैंकहरुले कुल ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। तर ऋण विस्तार भने ७० अर्ब रुपैयाँ छ।

पछिल्लो समयमा बैंकहरुले निक्षेपभन्दा कर्जा बिस्तार तीव्र रूपमा गर्दा तरलतामा दबाब पर्न थालेको छ। कोभिड १९को पछि सामान्य अवस्था र लयमा फर्केको बेलामा आयात,उपभोग र निर्माण क्षेत्रमा कर्जा प्रवाह भइरहेको बैंकरहरु बताउँछन
बैंकहरुले चालु आर्थिक वर्षमा कुल ३३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। तर ऋण बिस्तार ४८५ अर्ब रुपैयाँ छ। निक्षेप संकलनभन्दा ऋण १४९ अर्ब रुपैयाँ बढी दिइसकेका छन्। यो फागुन २१ गतेसम्मको तथ्यांकमा आधारित हो।

हालसम्म बैंकहरुले कुल ३८ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ऋण ३३ खर्ब ८८ अर्ब रुपैयाँ दिएका छन्।