काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र फुडमाण्डुवीच सम्झौता भएको छ। 

सम्झौताअनुसार नेपालकै पहिलो अनलाइन फुड डेलिभरी सेवा प्रदायक कम्पनी फुडमाण्डुबाट खरिद गर्दा सेवाग्राहीले अबदेखि आइएमई पे एपमार्फत सजिलैसँग भुक्तानी गर्न सक्नेछन्। फुडमाण्डु र आइएमई डिजिटल सोलुसनबीच भएको सम्झौतापश्चात अबदेखि आइएमई पेको भुक्तानी सेवा फुडमाण्डुको एप र वेब दुवैमा सुरु गरिएको हो। 

उक्त अवसरमा आइएमई डिजिटल सोलुसनका बजार प्रमुख गुण श्रेष्ठले  फुडमाण्डुमा ‘आइएमई पे’ को भुक्तानी सेवासँगै २५% क्यास ब्याकको योजना पनि सुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी  सेवाग्राहीले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए। 

सेवा सुरुआत गरिएको उपलक्ष्यमा बोल्दै फुडमाण्डुका ब्रान्ड, मार्केटिङ तथा बिक्री प्रमुख श्यामरत्न मालीले फुडमाण्डुबाट खरिद गर्दा ‘आइएमई पे’ मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास व्यक्त गरे। 

सेवाग्राहीले फुडमाण्डुसँग आबद्ध ६०० भन्दा बढी रेस्टुरेन्टहरुबाट अनलाइन अर्डर गरी सजिलै  विद्युतीय भुक्तानी गरी घर अफिसमै खानेकुरा प्राप्त गर्न सक्नेछन्। फुडमाण्डुको सेवा उपत्यकालगायत पोखराबाट पनि प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।