-अर्जुन तिमिल्सिना
काठमाण्डौ । लगानीकर्ता सचेत नहुँदा क्लोजआउटका नाममा उनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा जरीवानाबापत तिरेको १८ करोड रुपैयाँ भन्दा बढी रकम ब्रोकरहरुले झ्वाम पारेका गुनासो आएको छ । 

कारोबार भएको सेयरको समयमै राफसाफ नहुँदा क्लोजआउटको नाममा लगानीकर्ताले तिरेको १८ करोड ३२ लाख १७ हजार ९९० रुपैयाँको हिसाबकिताब गोलमाल देखिएको हो । 

चालु आर्थिक वर्षको ८ महिनासम्म(फागुनसम्म) लगानीकर्ताले क्लोजआउट जरीवानाबापत १८ करोड ३२ लाख १७ हजार ९९० आफ्ना ब्रोकरलाई तिरे पनि सो पैसा मर्कामा पर्ने(सेयर खरीद गरे पनि नपाउने) लगानीकर्ताले पाएको कमै मात्र उदाहरण छ । यसरी हेर्दा क्लोजआउट बापतको जरीवाना लगानीकर्ताबाट लिएर सो रकम ब्रोकरले आफ्नै खल्तीमा हाल्दै आएका छन् । 

लगानीकर्ताले तिरेको यति ठूलो रकम मर्कामा पर्ने अर्को लगानीकर्ताले नपाए पनि यो विषयमा सोधीखोजी भएको छैन । बरु क्लोजआउटको डण्डा लगाउँदै जरीवाना तिराएर कतिपय ब्रोकरहरु मालामाल बनिरहेका देखिएको छ । 

कारोबार राफसाफको चक्र साबिकको टी प्लस थ्रीबाट घटेर टी प्लस टू बनाइएपछि क्लोजआउटको समस्या झनै बढेको देखिएको छ । सिडिएससीका अनुसार यदि कुनै बिक्रेताले आफ्नो खातामा नभएको सेयर बेचेमा अथवा समयमै इडिआइएस तथा डिआइएस(सेयर ब्रोकरको पुल अकाउण्टमा ट्रान्सफर गर्ने काम) नगरिदिई सेयर हस्तान्तरण हुन नसकेको अबस्थामा कारोबार रकमको २० प्रतिशत क्लोजआउटको जरीवाना भनी लिने गरिन्छ । त्यसरी उठेको रकमको २५ प्रतिशत सरकारलाई करबापत तिर्नुपर्छ भने बाँकी रहेको रकममा ब्रोकरको मनोमानी चल्छ । 

यसरी ब्रोकरकै तजविजमा हुने यति ठूलो रकम लगानीकर्ताहरुले भने पाएका छैनन् । नियमतः जसले सेयर किनेर पनि समयमा सेयर पाउँदैन, क्लोजआउटबापत आएको जरीवाना रकम क्षतिपूर्तिबापत उसलाई दिनुपर्छ । यसको अर्थ २५ प्रतिशत कर कटाएर बाँकी रकम मर्कामा पर्ने लगानीकर्ताले पाउनुपर्ने हो, तर बजारमा यस्तो हुने गरेको छैन । मर्कामा पर्ने लगानीकर्तालाई यो विषयमा थाहै नदिई बीचमा ब्रोकरहरुले नै खेल्दै आएका स्वयम् लगानीकर्ता बताउँछन् । 

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले पनि क्लोजआउट जरीवानाको २५ प्रतिशत रकम सरकारलाई करको रुपमा दिनुपर्ने र बाँकी सेयर खरीद गर्नेले पाउनुपर्ने नियम रहेको बताउँछन् । 

ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले भने क्लोजआउटको नाममा नियमपूर्वक लिइने रकम गडबड नभएको दाबी गरे । नियमपूर्वक क्लोजआउटबापत उठेको जरीवाना खरीद गर्ने लगानीकर्तालाई दिने गरिएको समेत उनको अर्को दाबी छ । 

तर, बजारमा क्लोजआउटबापत उठेको जरीवाना रकम सेयर खरीद गर्नेले नपाउने गरेको व्यापक गुनासो छ । एक लगानीकर्ता महेन्द्र बिष्टले यस्तो रकम लगानीकर्ताले तिर्ने बेलामा थाहा पाए पनि पाउने बेलामा खबर नै आउँदैन । ‘भित्रभित्रै ब्रोकरहरुले लगानीकर्ताको नाममा आएको पैसा पनि खाइसकेका हुन्छन् र क्लोजआउटको जरीवाना आफ्नो गोजीमा हालेर लगानीकर्तालाई केही ढिलो गरी सेयर उपलब्ध गराउने गर्छन् । मैले अहिलेसम्म क्लोजआउटबापत किन्नेले रकम पाएको सुनेको छैन ।’–बिष्टले बिजशालासँग भने ।

यसैबीच, चालु आर्थिक वर्षको हालसम्म सेयर बजारमा बढोत्तरी हुँदा लगानीकर्ताले ५ प्रतिशतले हुन आउने पुँजीगत लाभकर ७ अर्ब ४१ करोड ६१ लाख ८४ हजार ५९७ रुपियाँ ४३ पैसा सरकारलाइ करको रुपमा तिरेका सिडिएससीले जनाएको छ ।