काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए) काठमाण्डौको सहयोगमा नेपाल बैंकर्स संघ कर्णाली प्रदेश समितिले सोमबार कर्णाली प्रदेशका व्यापारी/व्यवसायीहरुमा बैंकिङ तथा वित्तीय साक्षरता प्रदान गर्ने प्रमुख उद्देश्यका साथ सुर्खेतको वीरेन्द्रनगरमा एकदिने बैंकिङ साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। 

कर्णाली प्रदेश समितिका संयोजक राजकुमार शाक्यको अध्यक्षता आयोजित कार्यक्रममा मुख्य अतिथि नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शालिग्राम पोख्रेल थिए भने अतिथिमा उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष धनबहादुर रावत थिए। यो कार्यक्रम व्यापारी/व्यवसायीमा बैंकिङ, कर्जा, कर तथा डिजिटल बैंकिङ, कृषि सहुलियत योजना, कोभिड–१९ वाट प्रभावित ग्राहकका लागि बनाइएका नीति तथा योजनाहरुसम्बन्धी ज्ञान र चेतनामा आधारित सूचनामूलक थियो । 

प्रत्येक बैंकबाट मनोनयन भएका ९५ ग्राहक वर्गवाट सहभागिता रहेको कार्यक्रम अत्यन्त प्रभावकारी भएको थियो र भविष्यमा पुनः यस्ता कार्यक्रमहरु लिएर आउनुपर्छ भन्ने सहभागीहरुको प्रतिक्रिया रहेको थियो।