– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बजार विस्तार र विकासका लागि छिटै अब प्रादेशिकस्तरमा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने भएको छ। 

देश संघीयतामा गएसँगै अब सुविधा पनि स्थानीयस्तरमै जानुपर्ने आँकलन गर्दै बोर्डले सातै प्रदेशमा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने तयारी भइरहेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए। ‘नयाँ ब्रोकर चलाउन चाहनेले प्रदेश सरकारसँगै समन्वय गरेर बोर्डमा निवेदन दिनुपर्नेछ’, उनले भने। 

अध्यक्ष ढुंगानाले हाल सञ्चालनमा रहेका ब्रोकरहरुलाई पनि चाहेको खण्डमा जिल्ला र स्थानीय निकायमा नयाँ शाखा तथा सञ्जाल विस्तार गर्न दिइने जानकारी दिए। 

यसैबीच अध्यक्ष ढुंगानाले देशमा मात्रै नभएर गैरआवासीय नेपालीहरुलाई पनि सेयर बजारमा ल्याउन चाहेको बताए। यस विषयमा १–२ हप्तामै विज्ञ टोलीले प्रतिवेदन दिएपछि यो प्रक्रिया अगाडि बढ्ने उनले जानकारी दिए। 

बोर्डले कमोडिटी मार्केट पनि बजारमा ल्याउने भएको छ। ढुंगानाले भने, ‘अब हामीले नयाँ सोचका साथ प्राइभेट इक्विटी भेन्चर क्यापिटलको पनि स्थापना गर्दै छौँ। प्राइभेट इक्विटी भेन्चर क्यापिटल भनेको विल्कुल नयाँ इनोभेसनको कार्य गर्न चाहने तर लगानी जुटाउन नसक्नेलाई पुँजी जुटाउने तथा स्टार्टअपहरुलाई सहयोग गर्ने संस्था हो।’

अमेरिकाको उबरको उदाहरण दिँदै ढुंगानाले उबरमा पहिले कसैले लगानी गर्न नचाहेको बताए। ‘तर प्राइभेट इक्विटी भेन्चर क्यापिटलले लगानी गरेको थियो’, उनले भने, ‘यसले ज्ञान तथा पुँजी जुटाउन सहयोग गर्छ।’

ढुंगानाका अनुसार यदि यस्तो कम्पनी पहिल नै नेपालमा भएको भए श्रीराम सुगर मिल अहिले बन्द हुने थिएन।